गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३ गते । पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख ७३ हजार रुपियाँ प्रतिबद्धता आएको छ ।
कुल लगानीमध्ये १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार रुपियाँ पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । कुल लगानी प्रतिबद्धतामध्ये ६५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ ।
यस्तै सेवा क्षेत्रमा २१ प्रतिशत अर्थात् पाँच अर्ब ६९ करोड ८७ लाख ३० हजार रुपियाँ, सूचना प्रविधि क्षेत्रमा ८० करोड ६८ लाख ६३ हजार रुपियाँ प्रतिबद्धता छ ।
उत्पादनमूलक क्षेत्रमा कुल प्रतिबद्धताको आठ प्रतिशत र कृषि क्षेत्रमा समान तीन प्रतिशत लगानी आएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार सात महिनामा १७५ परियोजनामा स्वचालित मार्गमार्फत दुई अर्ब ६२ करोड ८२ लाख ५७ हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । नियमित मार्गमार्फत २११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।
सो अवधिमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्व्रिmप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत पनि थप एक अर्ब ९४ करोड रुपियाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।
चालु आवको माघ महिनामा ३२ वटा परियोजनामार्फत एक अर्ब छ करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै एसपिए र एसएसएमार्फत नौ करोड २२ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सात महिनामा नेपालमा ठुला लगानीको परियोजनामा चार, मझौला लगानीका सात र साना लगानीका ३७५ परियोजना दर्ता भएका छन् ।
यस्तै सात महिनामा पर्यटन क्षेत्रका १६८ परियोजना दर्ता हुँदा सूचना प्रविधि क्षेत्रका १३४, सेवा क्षेत्रका ४८, उत्पादनमूलक क्षेत्रका २७, कृषि क्षेत्रका छ, पूर्वाधार क्षेत्रका दुई र ऊर्जामूलक क्षेत्रका एक परियोजना दर्ता भएका छन् ।
विभागका अनुसार हालसम्म छ हजार ७८५ परियोजनामा पाँच खर्ब ४६ अर्ब ६० करोड ४२ लाख ३० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको न्यून रकममा मात्र नेपालमा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।
चालु आवको छ महिनासम्म छ अर्ब ५० करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा चार अर्ब ६४ करोड रुपियाँ लगानी भित्रिएको थियो ।