• ३ फागुन २०८१, शनिबार

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : एएफपी

वासिङ्टन, फागुन २ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गर्नुभएको छ । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरैजसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गर्नुभएको छ ।

ट्रम्पको पुनरागमनपछि ह्वाइट हाउस भ्रमण गर्ने चौथो विश्व नेता मोदीले समान विचारधाराका ट्रम्पलाई मित्रका रूपमा वर्णन गर्नुभयो र उहाँको ‘मेक अमेरिका ग्रेट अगेन’ नारालाई अपनाइरहेको बताउनुभयो ।

ट्रम्पले मोदी र भारतसँग ‘विशेष सम्बन्ध’ पाएको बताउनुभयो र असामान्य तर व्यङ्ग्यात्मक विनम्रता प्रदर्शन गर्दै मोदीलाई आफूभन्दा ‘धेरै कडा वार्ताकार’ भएकामा प्रशंसा गर्नुभयो ।

लगातारका अमेरिकी प्रशासनहरूले बढ्दो चीनको सन्दर्भमा भारतलाई समान विचारधारा भएको प्रमुख साझेदारका रूपमा हेरेका छन् र ट्रम्पले नयाँ प्रशासन अमेरिकी सैन्य पुरस्कारहरूमध्ये एक एफ–३५ लडाकू जेटहरू बिक्री गर्न तयार रहेको घोषणा गर्नुभयो ।

“यस वर्षदेखि हामी भारतलाई सैन्य बिक्री धेरै अर्ब डलरले बढाउँदैछौँ”, ट्रम्पले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अन्ततः भारतलाई एफ–३५ स्टेल्थ लडाकू जेटहरू प्रदान गर्ने बाटो पनि खोल्दैछौँ ।

भारत नाटो सहयोगी इजरायल र जापानसहितका विशिष्ट देशहरूको समूहमा सामेल हुनेछ जसलाई सुपरसोनिक गतिमा पत्ता नलाग्ने गरी सञ्चालन गर्नसक्ने एफ–३५ किन्न अनुमति दिइनेछ ।

आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रयासलाई निरन्तरता दिँदै ट्रम्पले दुई देशले बन्दरगाह, रेलमार्ग र पानीमुनिको केबलमा लगानी गरेर ‘सम्पूर्ण इतिहासकै सबैभन्दा महान व्यापार मार्गहरूमध्ये एक’ निर्माण गर्ने योजना बनाएको बताउनुभयो । यो भारतदेखि इजरायल हुँदै युरोप र त्यसभन्दा पर चल्नेछ ।

जोखिमपूर्ण भन्सार

ट्रम्पले आर्थिक मामिलामा मित्र र शत्रु दुवैसँग द्वन्द्व गर्नुभएको छ । भेट हुनुभन्दा केही घण्टाअघि ट्रम्पले भारतसहित सबै देशहरूमा पारस्परिक शुल्कको घोषणा गर्नुभयो ।

मोदीको साथमा बोल्दै ट्रम्पले भारतको ‘अनुचित, धेरै कडा भन्सार’ लाई ‘ठुलो समस्या’ भन्नुभयो तर दुई देशले भारतको पक्षमा रहेको व्यापार घाटा कम गर्न वार्ता गर्ने बताउनुभयो ।

मोदीले विश्वको सबैभन्दा ठुलो र पाँचौँ ठुलो देशले तेल र ग्यासमा केन्द्रित ‘पारस्परिक लाभदायक व्यापार सम्झौता’ मा काम गर्ने र यो ‘चाँडै नै’ सम्पन्न हुने बताउनुभयो ।

ट्रम्पको मोदीसँगको बैठकमा स्पेसएक्स र टेस्लाका उद्योगपति एलन मस्क पनि सामेल हुनुहुन्थ्यो । मस्कले ट्रम्पको दाहिने हातको रूपमा अमेरिकी कर्मचारी तन्त्र सुधार गर्न आक्रामक प्रयास सुरु गर्नुभएको छ ।

मोदीले मस्कसँग एकान्त बैठक पनि गर्नुभयो । यसले विश्वका सबैभन्दा धनी व्यक्ति भारतीय नेतासँग आधिकारिक वा व्यावसायिक क्षमतामा भेटिरहनुभएको थियो भन्ने प्रश्न उठायो ।

भारतीय प्रधानमन्त्रीले केही बालबालिका र अर्कातिर भारतीय अधिकारीहरूसँग मुस्कुराइरहनुभएका मस्कसँग हात मिलाउँदै गरेका तस्वीरहरू पोस्ट गर्नुभयो ।

मस्कको स्वामित्वमा रहेको सामाजिक मिडिया प्लेटफर्म एक्सका प्रभावशाली प्रयोगकर्ता मोदीले पछि आफूले मस्कलाई प्रधानमन्त्री बन्नुभन्दा पहिलेदेखि चिनेको बताउनुभयो ।

ट्रम्पलाई सम्मान

मोदीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्च–स्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गर्नुभएको थियो । यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले–डेभिडसनका लागि फाइदाजनक छ । हार्ले–डेभिडसनको भारतमा सङ्घर्षले ट्रम्पको असन्तुष्टि बढेको छ ।

भारतले गत हप्ता ट्रम्पको आप्रवासन कडाइको हिस्साका रूपमा एक सयजना साङ्लाले बाँधिएका आप्रवासीहरू बोकेको अमेरिकी सैन्य उडानलाई पनि स्वीकार गरेको छ ।

यो व्यवहारले भारतीय विपक्षीबाट विरोध निम्त्यायो । विपक्षीले मोदीमाथि ट्रम्पलाई खुसी पार्न नागरिकहरूको गरिमाको बलिदान गरेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा मोदीले कागजातविहीन भारतीयहरूलाई मानव बेचबिखनकर्ताहरूले प्रलोभन दिइरहेको भन्दै सहयोग गर्ने वाचा गर्नुभयो । “अमेरिकामा अवैध रूपमा रहेका कुनै पनि प्रमाणित भारतीयहरूलाई हामी भारत फिर्ता लैजान पूर्ण रूपमा तयार छौँ”, उहाँले भन्नुभयो ।

ट्रम्पले बदलामा संयुक्त राज्य अमेरिकाले सन् २००८ को रक्तपातपूर्ण मुम्बई आक्रमणको एक शङ्कास्पद व्यक्तिलाई भारत प्रत्यर्पण गर्ने घोषणा गर्नुभयो । ट्रम्पले ती व्यक्तिलाई ‘संसारका अति दुष्ट मानिसहरूमध्ये एक’ भन्नुभयो ।

सिकागोमा रहेका पाकिस्तानी मूलका क्यानाडाली नागरिक तहव्वुर हुसेन राणालाई सन् २०११ मा दोषी ठहर गरिएको थियो र पछि १३ वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी सर्वोच्च अदालतमा उनको अपील खारेज भएपछि उनको प्रत्यर्पण अपेक्षित थियो ।

मोदी र ट्रम्प दुवैमा धेरै समानता छन । दुवैले अल्पसङ्ख्यकभन्दा बढी बहुसङ्ख्यक समुदायलाई बढावा दिने वाचा गर्नुभएको छ र दुवैले असहमतिलाई कडाइका साथ खारेज गर्नुभएको छ ।

मोदीले आफ्नो पहिलो कार्यकालमा दृढतापूर्वक ट्रम्पलाई खुशी पार्नुभएको थियो । सन् २०२० फेब्रुअरीमा मोदीले ट्रम्पलाई आफ्नो गृह राज्य गुजरातमा विश्वको सबैभन्दा ठुलो क्रिकेट स्टेडियमको उद्घाटन गर्न एक लाखभन्दा बढी मानिसको हर्षोल्लासपूर्ण भीड समक्ष आमन्त्रण गर्नुभएको थियो ।

ट्रम्पले यस वर्षको अन्त्यतिर अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार पक्षीय समूह क्वाडको निर्धारित शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना छ । रासस/एएफपी