वासुदेव शर्मा
जाजरकोट, चैत ३ गते । शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढा पहिलो पटक संसदीय यात्रा सुरु गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएपछि उहाँ पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका बुढाले १३ औँ महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सचिव र १४ औँ महाधिवेशनमा उपसभापति पदमा रही सक्रिय राजनीति गर्दै आउनुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट उहाँले नेपाली कम्युनिस्ट पार्टीका नेता एवं तीन पटक मन्त्री भइसकेका शक्तिबहादुर बस्नेतलाई पछि पार्नुभएको हो ।
निर्वाचित भएपछि उहाँले जिल्लाको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ विकासनिर्माणलाई प्रभावकारी बनाउन र दिगो विकास गर्न सर्वपक्षीय सहकार्यको आवश्यकता औँल्याउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जाजरकोटका जनताले गरेको आशा भरोसा अनुसार काम गर्न गम्भीर भएर लाग्ने छु ।” उहाँ जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर नीतिनिर्माण र कार्यक्रम तर्जुमा गर्न लाग्ने बताउनुहुन्छ । यस क्षेत्रबाट तीन दशकपछि नेपाली कांग्रेसलाई संसद्मा पु¥याउने जनताको शिर झुक्न नदिने अठोट पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै जाजरकोटको विकासका लागि प्रतिबद्ध रहने छु ।”
उहाँले कर्णाली प्रदेशकै गौरवको आयोजनाका रूपमा रहेको नलगाड जलविद्युत्, जाजरकोट–जुम्ला सडक, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा राजमार्ग, विद्युतीकरण, खानेपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताउनुभयो । त्यस्तै लामो समयदेखि अलपत्र रहेको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ जोड्ने पक्की पुल, छेडागाड नगरपालिका–१ र ५ स्थित खाराखोला पुल, भेरी कोरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको पुल निर्माणलाई पूर्णता दिन लागि पर्ने उहाँले बताउनुभयो । जिल्लाका सात वटै स्थानीय तहमा निर्माणाधीन गाउँ तथा नगर अस्पतालको काम सम्पन्न गर्न सबैसँग समन्वय र सहकार्य गर्ने पनि उहाँले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरणका लागि ग्रामीण सडक स्तरोन्नति, गुणस्तरीय शिक्षाका लागि विद्यालयमा लगानी; गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई छात्रवृत्ति, युवालाई उद्यमशील बनाई रोजगारीको व्यवस्थापन गरेर पलायन रोक्ने कार्यक्रम तथा योजना ल्याउन पहल गर्ने बताउनुभयो ।