• ३ चैत २०८२, मङ्गलबार

स्थानीय विकासलाई प्राथमिकता

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), चैत ३ गते । गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर सागर ढकालले राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०४८ असार २८ गते जन्मिएका ३४ वर्षीय ढकालले जनताका प्रतिनिधिको मुख्य भूमिका नीति निर्माणमा हुने भएकाले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै राज्यको नीति निर्माण गर्ने बताउनुभयो । उहाँले प्रत्यक्षतर्फका मतदाताको विश्वास प्राप्त गर्दै नेकपा (एमाले) का प्रभावशाली नेता मन्त्री प्रदीप ज्ञवालीलाई भारी मतान्तरले हराउनुभयो । 

ढकालले नीति निर्माणसँगै स्थानीय आवश्यकतालाई बुझेर विकासनिर्माणमा प्राथमिकता दिने योजना सुनाउनुभयो । “गुल्मेली मतदाताको आवाजलाई प्रतिनिधिका रूपमा सदनसम्म लैजाने र यहाँका समस्यालाई नीति निर्माण गरी हल गर्दै जाने मेरो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो । साथै उहाँले आफूले नेतृत्व गर्ने युवासँगको संवाद र उनीहरूको इच्छा, चाहना तथा भावना अनुसारको काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

ढकालले युवा स्वदेशमै टिक्ने वातावरण बनाउन कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने र पर्यटन क्षेत्रको विकासमार्फत स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको बताउनुभयो । परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाउँदै व्यावसायिक वातावरण निर्माण गर्ने, उत्पादनको बजारीकरण व्यवस्थित गर्ने र रुरु, रेसुङ्गा जस्ता पर्यटकीय क्षेत्रको विकासमार्फत युवालाई स्वदेशमै टिकाइराख्ने नीति अघि बढाउने उहाँको योजना रहेको छ ।

गोरखापत्रसँगको कुराकानीमा ढकालले स्थानीय कृषकले लगाएको अन्नबालीलाई बाँदर, मृग, बँदेल जस्ता जङ्गली जनावरबाट बचाउने उपायका लागि अध्ययन गरी नीति निर्माण गर्नुपर्ने बताउनुभयो । विदेशी राष्ट्रले जङ्गली जनावर व्यवस्थापनमा प्रयोग गरेको प्रणालीलाई अध्ययन गरी नेपालमा पनि लागु गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले गुल्मीमा उत्पादन भइरहेको गुल्मेली कफीलाई गुणस्तर कायम राख्दै उत्पादन बढाउने र विदेशमा बजारीकरण गर्ने योजना रहेको बताउँदै भन्नुभयो, “व्यावसायिक रूपमा कफी, अलैँची, कागती, सुन्तला जस्ता फलफूल खेती गर्दा जङ्गली जनावरबाट सुरक्षा, बाँझो जग्गाको सदुपयोग र बसाइँसराइ न्यूनीकरण गर्न सकिन्छ ।”

ढकालले शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रको विकासलाई आफ्नो निर्वाचन प्रतिबद्धतामा राखेको उल्लेख गर्दै त्यसलाई अक्षरशः पालना गर्ने दोह¥याउनुभयो । उहाँले गाँजा खेतीलाई व्यावसायिक वैधानिकता प्रदान गरेर त्यसबाट कपडा र कागज निर्माण गर्न सकिने, रोजगारी सिर्जना हुने र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने पनि बताउनुभयो । उहाँले विकासनिर्माणमा सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । यसअघि निर्वाचित प्रतिनिधिले विकासनिर्माणमा गरेको कामलाई सम्मान गर्दै थप विकासमार्फत गुल्मीलाई नमुना बनाउने उहाँको योजना रहेको छ ।

ढकाल अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर डडेलधुराबाट १३ हजार ४२ मत प्राप्त गर्दै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो । उहाँले त्यस अनुभवबाट पाठ सिकेर आफू अहिले गुल्मीबाट चुनाव लडेर विजयी भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नीति निर्माण र विकास कार्यमा अझ सक्रियता देखाउने अवसर पाएको बताउनुभयो ।

 ढकालले राज्यको नीति निर्माणमा स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने आफ्नो लक्ष्य स्पष्ट पार्दै गुल्मीको समग्र विकास र स्वदेशमै युवालाई टिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।