काठमाडौँ, फागुन २ गते । पश्चिमा मुलुकबाट सुरु भएको भ्यालेन्टाइन नेपालमा पनि चाडपर्व झैँ मनाउन थालिएको छ । भ्यालेन्टाइन कार्ड, सो पिस गिफ्ट, फ्रेम, गुलाब, प्रेम जनाउने आकारका डलहरू विशेष गरी युवा जमातबिच मनाउने चलन रहेको छ । ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखार अनुसार १९ औँ शताब्दीदेखि सुरु भएको मानिन्छ ।
पछिल्लो समय विदेशी प्रभावबाट प्रेरित भएर प्रेम दिवसलाई महोत्सव जस्तै मनाउन थालिएको देखिन्छ । संस्कृतिविद् गोविन्द टन्डनका अनुसार प्रणय दिवस नेपालमा केही वर्षअघिबाट मात्र चल्न थालेको हो । यो पश्चिमी संस्कृतिको प्रभाव मात्र हो । उहाँले भन्नुभयो, “हामीले आफ्ना कतिपय संस्कृतिलाई बिर्सिसक्यौँ तर यो बाहिरबाट आएको कुरालाई सम्झी सम्झी मनाउँछौँ । यसले अहिलेलाई त खासै फरक नपर्ला तर पछि दुरगामी असर पर्न सक्छ । कसैले गुलाबको फूल बेच्नका लागि गरिरहेका होलान्, कसैले होटेलमा पर्यटक आउने हिसाबले गरेका होलान् । व्यवसायीका रूपमा त्यो राम्रै होला तर नेपालीले चाडपर्वकै रूपमा मनाउनुलाई संस्कृतिप्रतिको अवमूल्यन हो,” उहाँले थप्नुभयो, “यो पहिला विदेशी संस्कृति हो भनेर सम्झेर मनाउँदा राम्रो होला कि ?”
प्रेमिल जोडी, नवदम्पती र प्रेमी, प्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिकतातर्फ लम्किरहेको हाम्रो समाजका युवकयुवतीले यस दिवसलाई निकै महìवका साथ मनाउने गरेका छन् । प्रेम दिवसले युवकयुवतीमा उत्साह ल्याउने कलाकार दीपाश्री निरौला बताउनुहुन्छ । उहाँका अनुसार प्रेम दिवस मनाउनु भनेको हिंसा रोक्नु पनि हो । पुरानो सभ्यता अनुसार प्रेम दिवसलाई मनाउने चलन भएकाले यसको सुरुवात पनि एसियाली मुलुकबाट भएको हुन सक्ने बताउनुहुन्छ कलाकार निरौला । हाम्रो देशमा जे कुरा पनि धेरै नै हुन्छ । फेरि यहाँ जे कुरालाई पनि भड्किलो भन्ने चलन पनि छ । तिज आयो तिज भड्किलो, कसैको विवाह उत्सव भयो त्यही भड्किलो । यहाँ भड्किलो चाहिँ कुनलाई भन्ने, उहाँको प्रश्न थियो ।
प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसले आफ्नै महत्व राख्ने नायक सौगात मल्ल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशी प्रभाव भए पनि आफूसँग समय छ भने त्यो चिजलाई रमाइलो गरेर मनाउँदा कुनै प्रभावले पनि फरक पर्दैन । जे कुरा पनि धेरै खायो भने तितो हुन्छ । प्रेम दिवस मायाको दिवस हो । यसलाई सम्य तरिकाले मनाउनु जरुरी भएको उहाँको भनाइ छ ।”
भ्यालेन्टाइन डे औपचारिक रूपमा रोमबाट सुरु भएको मानिन्छ । तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न प्रतिबन्ध लगाएका थिए तर सम्राट्को आदेशविपरीत त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि लुकिछिपी जोडीलाई विवाह गराइदिन थाले । पादरी सेन्ट भ्यालेन्टाइनलाई आदेश नमानेको आरोपमा इपु २७० फ्रेबुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण समर्पण गर्ने दिन पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउन थालिएको हो ।