• २९ फागुन २०८१, बिहिबार

स्वस्थानी व्रत र माधवनारायण

blog

माघ महिनामा हरेक हिन्दु धर्मावलम्बीहरूका घर घरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने, सुनाउने प्रचलन रहिआएको छ । यसको उल्लेख स्कन्दपुराण, केदारखण्ड जस्ता शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । श्रीस्वस्थानी व्रतकथाको किताबमा स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघ माहात्म्ये श्रीस्वस्थानी व्रतकथायां भनिएको छ । यसले के देखाउँछ भने स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण हो । ३१ अध्याय भएको श्वस्थानी व्रतकथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि अन्य कथा पद्म पुराण, स्कन्द पुराण, श्रीमद्भागवत, विष्णु पुराण, बाराह पुराणलगायतका पराणका कथालाई जोडेर बनाइएको छ । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ । यसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि, नवराज, शिवशर्मा, गोमाका कथा प्रसङ्ग रहेको छ । श्रीमद्भागवतबाट भूगोलको वर्णन, विष्णुले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेको कथा लिएको देखिन्छ । वराह पुराणबाट विष्णुले मधुकैटभलाई मारेको कथा लिएको देखिन्छ । 

यसै क्षेत्रको माटोमा मनाइने हुनाले यो व्रतपर्व नेपाली समाजको मौलिक व्रतपर्व हो । पौषशुक्ल पूर्णिमादेखि स्वस्थानी व्रतकथा सुरु भई माघशुक्ल पूर्णिमाका दिनसम्म व्रतालु तथा भक्तजनले श्रद्धापूर्वक श्री स्वस्थानीदेवीको कथा वाचन र श्रवण गर्ने गर्छन् । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । यो एक महिनाभर प्रत्येक दिन बेलुका हिन्दु धर्मावलम्बीले घर घरमा स्वस्थानी कथा वाचन तथा श्रवण गर्ने गर्छन् । व्रतकथाको वाचनमा र श्रवनमा प्राचीन समयदेखि हालसम्म पनि उत्तिकै लोकप्रियता रहेको पाइएको छ । हाल विश्वभरि छरिएर रहेका कतिपय नेपाली विदेशमा पनि स्वस्थानी कथा वाचन र श्रवण गर्ने गरेको देखिन्छ ।

स्वस्थानीमा उल्लेख गरिएको नवराज राजाले राज्य गरेको शालीनदी क्षेत्रमा शङ्खदेव नामक राजाले राज्य गरेका थिए । उनैको नामबाट यस क्षेत्रको नाम शङ्खपुर र पछि अपभ्रंश हुँदै शङ्खरापुर र हाल साँखु भनिन थालिएको हो भन्ने भनाइ छ । शालीनदीमा मेला भर्न टाढाटाढाबाट हजारौँ भक्तजन बर्सेनि शालीनदी आउने गर्छन् । यो नदी क्षेत्र श्रीस्वस्थानीदेवीको अति पावनपीठको रूपमा आजपर्यन्त रहेको छ । माघ स्नान गर्ने क्रममा शालीनदीमा स्नान गर्दा शरीरका रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । स्वस्थानीको कथा अनुसार पहिले यही व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी र गुमेको आफ्नो पति नवराजलाई पाएकी साथै लावण्य देशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नागनागिनीको पुनर्मिलन भएको थियो । 

स्वस्थानी व्रतको आरम्भ गर्दा हातगोडाका नङ काटी, शुची भई, एकभक्त रही, स्नान गरी, नित्य मध्याह्नकालमा महादेवको पूजा गर्नु पर्छ । शालीनदी परिसरमा व्रत बस्ने भक्तालुहरू व्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपति क्षेत्रसम्म तीर्थ गर्न जाने गर्छन् । माघ शुक्ल पूर्णिमाका दिन श्रीस्वस्थानी व्रतको साङ्गे गरी विशेष यज्ञसमेत गर्छन् । यस दिन अष्टोत्तरसय अक्षता, अष्टोत्तरसय अक्षत रोटी, अष्टोत्तरसय बेलीपुष्प, अष्टोत्तरसय यज्ञसूत्र, अष्टोत्तरसय कुटका सुपारी, अष्टोत्तरसय पान, जातजातका फलफूल तयार गरी आर्शिमा ऊँकार लेखी गङ्गाजलले स्नान गराउनु, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, फलफूल, वस्त्र पहिराउनु, धूप, दीप, नैवेद्य, कस्तुरी भेटी चढाउनु, षोडशोपचारले पूजा गर्नु, जप गर्नु, स्तोत्र पाठ गर्नु, ध्यान गर्नु, अर्घ दिई ईश्वरी भनी वरदान मागेर प्रसाद झिक्नु पर्छ । त्यसपछि अष्टोत्तरसयमा आठ रोटी, आठ अछेता, आठ बेली पुष्प, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नो श्रीमानलाई दिनु, श्रीमान् नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन कामना गरेर व्रत बसेको हो आफ्नो काम सिद्ध होओस् भनी गङ्गामा लगी बगाउनु पर्छ भनी उल्लेख गरिएको छ । बाँकी रहेको सय रोटी आफूले फलाहार गरेर रातभर जाग्राम बसेर उनै स्वस्थानीका महिमा सुन्ने र सुनाउने गर्नु पर्छ । यसले गर्दा व्रतालुको इच्छा पूरा हुन्छ भन्ने कुरा उल्लेख छ । 

स्वस्थानी देवीको व्रत बसेकाले विभिन्न व्यक्तिका मनोवाञ्छित फल प्राप्त भएका र यी देवीलाई अपमान गरेकाले महारोगी भई दुःख पाएका उदाहरण स्वस्थानी कथामा उल्लेख पाइन्छ । 

पार्वती माताले जगदीश्वर भगवान् महादेव स्वामी पाउनका लागि कठोर तपस्या र व्रत गर्दासमेत पहिलो पटकको व्रतबाट फल प्राप्त गर्न सकिनन् । त्यसैले पार्वती माताले पुनः कठोर तपस्या गर्न लागेको बेला बैकुण्ठाधिपति भगवान् विष्णुले त्यस ठाउँमा उपस्थित भई पार्वतीलाई स्वस्थान परमेश्वरीको व्रत बसेमा तिनको अभिलाषा पूर्ण हुने उपाय बताउनुभयो । यसरी स्वस्थान परमेश्वरीको व्र्रत बस्ने कुराको प्रेरणा एवं व्रतविधि भगवान् विष्णुले सर्वप्रथम पार्वती मातालाई दिनुभएको थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसपछि पार्वती माताले विष्णु भगवान्लाई गुरु मानेर पुनः व्रत पूजा गर्दा मात्रै फल प्राप्त भएकाले शालीनदी परिसरमा व्रत पूजा हुँदा माधवनारायणको मूर्तिसँगै पूजाआजा गरिने गरिएको छ । एक महिना शालीनदीमा नै बसेर व्रत पूजा र स्नान गर्ने भक्तजन पनि माधवनारायण मन्दिरको प्राङ्गणमा र माधवनारायणको अगाडि यही कारणले बसेर व्रत उपासना गर्ने गर्छन् । 

यसप्रकार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीको स्नानपश्चात् विशेष गरेर माधवनारायणको पूजा गर्ने परम्परा छ । शालीनदीस्थित माधवनारायणको मन्दिर स्वस्थानी व्रतकथा प्रारम्भ भएदेखि एक महिनाका लागि मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने गरिन्छ । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएको छ । पार्वती माताले व्रत बस्दासमेत पहिलो पटकको व्रतबाट फल प्राप्त नभएपछि विष्णु भगवान्लाई गुरु मानेर पुनः व्रत पूजा गर्दा मात्रै फल प्राप्त भएको थियो । त्यसैले एक महिनासम्म घर नगइकन शालीनदी प्राङ्गणमा नै एक महिना व्रत बस्ने भक्तजनहरूले शालीनदी परिसरमा व्रतपूजा हुँदा व्रत पूर्ण भएर इच्छित फल प्राप्त गर्नका लागि माधवनारायणको मूर्तिको समीप रहेर पूजाआजा गर्ने गर्छन् । त्यस्तै मकर स्नानका लागि माघ महिनामा शालीनदीमा जाने गरेका भक्तजनले पनि शालीनदीमा स्नान गरेपछि सर्वप्रथम माधवनारायणको पूजा र दर्शन गरेर मात्र अन्य देवीदेवताको पूजा आराधना गर्ने गर्छन् ।