गोरखापत्र समाचारदाता
ललितपुर, माघ २८ गते । लोक साहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये गौरी अनन्त सिरपाः सत्यमोहन लोकसाहित्य पुरस्कार बखुंबहालको नेवाः सूचना केन्द्रलाई प्रदान गरिएको छ ।
नेपाल भाषा साहित्य, संस्कृति सम्बन्धी विभिन्न कार्यक्रमहरुबारे नेवाः सूचनाको प्रवाहक भई योगदान गरे वापतको कदर स्वरुप रु. पचास हजारसहितको पुरस्कार नेपालभाषाको अभियन्ता मल्ल के सुन्दरले नेवाः सूचना केन्द्रलाई प्रदान गरिएको हो ।
सोही अवसरमा सत्यमोहन जोशीको कविता संग्रह ‘चखुँचां हाःगु म्ये’ पुन संस्करण गरी राजु महर्जन जुजुको कृति ‘चखुँचां हाःगु म्ये हाकनं छकः’ नेवाः देय् दबुको अध्यक्ष पवित्र बज्राचार्य, लोकसाहित्य परिषदको अध्यक्ष राजितबहादुर श्रेष्ठ, नेवाः सूचना केन्द्रका अध्यक्ष रमिता बज्राचार्य र पुरस्कारका दाता बिपुल श्रेष्ठले सामुहिक विमोचन गर्नुभयो ।
कार्यक्रममा नेपालभाषा अकाडेमीका निवर्तमान अध्यक्ष यज्ञरत्न धाख्वाः र नेपालभाषा साहित्य विकासमा निरन्तर लागिरहनुभएका वरिष्ठ साहित्यकार केशरमान ताम्राकारलाई सम्मान तथा परिषदको मानार्थ सदस्यता प्रदान गरियो ।
निरंकुश राणाकालमा नेपाल भाषालाई जति दमन ग¥यो त्यत्ति नै जोश जाँगर र साहसको नमूनास्वरुप प्रेम बहादुर कसाःले च्वसापासा, नेपालभाषा हस्तलिखित ग्रन्थको संग्रहालय आशा सफू कुथि, चित्तधर हृदयले नेपालभाषा परिषद् स्थापना गरेर जानुभएको कुरा मन्तव्यको क्रममा मल्ल के सुन्दरले पुनःस्मरण गराउनुभयो ।
त्यसैगरी नेवाः हाइकु ख्यःले पनि बरिष्ठ साहित्यकार केशरमान ताम्राकारलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरियो । कार्यक्रमलाई अझ मनोरन्जन प्रदान गर्न वरिष्ठ गायककार पवित्र कसाः रफेला महर्जन र बालकलाकार लिज्ञा बजिमयले सांगीतिक प्रस्तुत गर्नुभयो ।