मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, असार २ गते । “अब त केही छैन आफ्नो भन्ने । बाँकी छ, बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा मात्रै । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका धायो, फेरि पाउने भनेको आश्वासन मात्रै हो ।” मकवानपुरको इन्द्रसरोवर–३, सिस्नेरीमा बाढीले वितण्डा मच्चाएपछि पीडित बन्न पुगेकाको गुनासो हो यो ।
अविरल वर्षाले कुलेखानी जलाशय भरिएपछि जलाशयका दुई वटा ढोका खोलिदिँदा सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको थियो । काठमाडौँदेखि हेटौँडा ओहोरदोहोर गर्दा तरकारी किन्नेदेखि खाजा खान रोकिने विश्रामथलोका रूपमा रहेको सिस्नेरीबजार क्षणभरमै बगर बनेथ्यो । कैयाँै परिवारलाई विस्थापित बनायो । हारगुहार चल्यो तर केही सिप लागेन । इन्द्रसरोवर गाउँपालिका–३ को कुनियोटारमा तामाङबहुल बसोबास छ । बाढीले घरबारी बगाएपछि राहतको पखाईमा रहेकी ५० वर्षीय राधिका तामाङ अपाङ्गता भएकी भाइबुहारीको सहारा बन्नुभएको छ । उहाँ अविवाहित हुनुहुन्छ । खेतीकिसानी गरेर भाइबुहारीको सहायता बनिरहेकी राधिकालाई असोजको बाढीले गरिखाने खेत बगाएपछि वज्रपात परेको हो ।
“वडामा अनुदान आइपुगेको छ भन्ने त सुनेका छौँ । खेतीपाती गरेर घरखर्च चलिरहेको थियो । खेतमा दुई वर्षलाई खान पुग्ने अन्नपात फल्थ्यो । अब यो लालपुर्जाले मात्र के गर्ने हो ?” हातको इसाराले सिमाना मेटिएको बगर देखाउँदै उहाँले दुःखेसो पोख्नुभयो । यता ६० वर्षीय प्रतापसिंह वाइबाको रोदन पनि उस्तै छ । २० मुरी धान फल्ने पाँच रोपनी आठ आना खेत आँखैअगाडि बगाउँदा उहाँसँग हारगुहारको विकल्प रहेन । गोठका गाईभैँसी फुकाउनसमेत नपाएको उहाँले भन्नुभयो ।
बाढीपीडित चन्द्रबहादुर वाइबा सबै जग्गाजमिन बगाएपछि छोराको घरमा गएर बस्न थाल्नुभयो । राहतका नाममा केही बोरा चामल मात्र पाएको उहाँको भनाइ छ । “खोलाको बाँध खोल्ने भनेर सूचना सुनिरहेका थियौँ । २०५० सालको बाढीले केही भएको थिएन । अहिले पनि केही नहोला भनेर ढुक्क बस्यौँ, भरे त सबै बगायो,” उहाँले भन्नुभयो ।गत वर्ष दसैँको मुखमा घरबारविहीन बनेकालाई बर्खायाम सुरु भएसँगै फेरि चिन्ता बढेको छ । पुरानो घाउमा मल्हम लागेको छैन । सुरक्षित बसोबास पाएको छैन । राहत कुरेरै मानसिक पीडा थपिएको छ । सरकारले वासस्थान सुरक्षित गरी एक पेट खान पुग्ने खेतीयोग्य जमिनको व्यवस्था गरिदिए पीडाको घाउ मेटिने उहाँहरूको भनाइ छ ।
इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले बाढीबाट विस्थापितका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । “यस वर्ष उहाँहरूको स्थायी बसोबास र जग्गा प्राप्तिका लागि पहल गरेको थिएँ । कार्यविधि नमिलेको भएर यस वर्ष नहुने भयो । आगामी वर्ष टेन्डर लागेको स्थानमा तटबन्धसहित खेतबारीको व्यवस्थापन गर्नेतर्फ हाम्रो पहल रहने छ,” उहाँले भन्नुभयो । अहिले उहाँहरूलाई अस्थायी बसोबासको व्यवस्था मिलाई जसोतसो जीविकोपार्जनमा सहयोग भइरहेको छ । सरकारले पूर्वाधार निर्माणमा जोड दिएर सडक निर्माणको काम धमाधम गराइरहेको छ ।