प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार २ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेका अनुसार साढे दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको कामकाज ठप्प भएको छ । चालु आर्थिक वर्षको भुक्तानी अवधि सकिन २४ दिन मात्रै बाँकी रहँदासमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव नपठाइदिएको कारण सशर्ततर्फका बजेट फ्रीज हुने सम्भावना बढेर गएको नगरप्रमुख काफ्लेले दुःखेसो पोख्नुभयो ।
नगरप्रमुख काफ्लेका अनुसार सशर्ततर्फका केही योजना सम्झौता हुन बाँकी छन् साथै सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा नगरका सेवाग्राहीले समस्या झेल्नुपरेको छ ।
असार १० गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान रहेको थाहा हुँदाहुँदै मन्त्रालयले पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएका कारण आउँदो आर्थिक वर्षका लागि गरिने नगरसभा समेत अन्याेल भएकोे नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा समयमै सेवाग्राहीले सेवा लिन नसकेकाले जतिसक्यो छिटो प्रमुख प्रशासकीय अधिकृत पठाइदिन उपप्रमुख चौधरीले माग गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयमा भएका केही कर्मचारी पनि कामविहीन जस्तै बस्नुपरेको अवस्था छ ।
स्थायी कर्मचारीले दुई महिना तथा करारका कर्मचारीले तीन महिनादेखिको तलब नपाएको नगरपालिकाका लेखा प्रमुख अर्पणा देवकोटाले जानकारी दिनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले एक दुई दिनमै प्रमुख प्रशासकीय अधिकृत खटाइने प्रतिक्रिया दिनुभयो ।