• २ असार २०८२, सोमबार

गलेश्वर धाममा सौन्दर्यीकरण योजना सुरु

blog

गलेश्वर सौन्दर्यीकरण योजना अनुसार पदमार्ग निर्माण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २ गते ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा सौन्दर्यीकरण योजना सुरु गरिएको छ । सौन्दर्यीकरण योजना अनुसार गलेश्वर शिवालय मन्दिरमा जाने सडकमा ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण थालिएको हो ।

गलेश्वर धाम सौन्दर्यीकरण योजनाका लागि चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले दुई/दुई लाख गरी ३० लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।  

गत माघ महिनामा उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले २४ लाख ३६ हजार पाँच सय ७१ रुपियाँमा ठेक्का लिएको छ । निर्माण व्यवसायीले अहिले सडक सम्माएर ढुङ्गा बिछ्याउन सुरु गरेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।   

बेनी–जोमसोम सडकसँग जोडिएको गलेश्वर प्रवेशद्वारदेखि मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्म ढुङ्गा छपाएर पदमार्ग निर्माण र पदमार्गको छेउछाउमा गमला राखेर फूलका बिरुवा रोप्ने योजना रहेको बेनी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई धार्मिक पर्यटक आकर्षित गर्ने योजना अनुसार प्रवेशद्वारदेखि ढुङ्गा बिछ्याउने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोषसहितका सङ्घसंस्थाको सहयोगमा आगामी वर्षपनि निरन्तरता दिएर योजना सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरू बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको व्यवस्था मिलाइने छ । गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीको रकमबाट सौन्दर्यीकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।