अजय शाह
गौशाला(महोत्तरी), असार २ गते । महोत्तरीमा स्यालको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बर्दिवास नगरपालिका–७ स्थित फूलबारी टोलमा आइतबार राति स्यालको आक्रमणबाट एक वृद्ध घाइते भएका हुन् । आफ्नै घरमा सुतिरहेका ६३ वर्षीय दुखिया सदालाई स्यालले आक्रमण गरेको थियो ।
स्यालको आक्रमणबाट सदाको अनुहारमा घाउ लागेको छ । स्यालले टाेकेर चिउँडोको मासु नै निकालेपछि सदाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । रातिको समयमा एक्लै सुतिरहेका सदा स्यालको आक्रमणमा पर्नुभएको हो ।
आक्रमणपछि स्थानीयवासीले तत्काल उहाँलाई उद्धार गरी बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गराएका छन् ।
दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका सदाको उपचारमा लाग्ने खर्च बर्दिवास नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “यो एक निकै दुःखद र चिन्ताजनक घटना हो । विपन्न नागरिकको जीवन सुरक्षाका लागि नगरपालिका जिम्मेवार छ । हामी उहाँको उपचारमा सहयोग पुर्याउनेछौं ।”
स्थानियवासीहरूका अनुसार पछिल्लो समय फूलबारी टोल तथा आसपासका क्षेत्रमा जङ्गली जनावर देखिनु सामान्य भइसकेको छ । खासगरी रातिको समयमा जङ्गली स्याल र नीलगाईजस्ता जनावरहरू बस्तीमा प्रवेश गरेर आक्रामक गतिविधि गर्न थालेका छन् । यसले स्थानीयवासीमा त्रास बढाएको छ ।