• २६ माघ २०८१, शनिबार

थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा

blog

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुलबुले तालको पानी र रक्सी चढाएर थारू सम्मेलनको उदघाटन गर्नुहुँदै । तस्बिरः गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, माघ २६ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो ।

थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएतापनि त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताउनुभयो । काङ्ग्रेस सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेको भन्दै समुदायका अगुवाहरू शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्नुभयो ।  

मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो ।  

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रह समेत गर्नुभयो । 

मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । चौधरीले भन्नुभयो, “लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।” 

उहाँले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गर्नुभयो । मटहवाँ सङ्घ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा तुलसीपुुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले  मटावाँ ऐन पालिकाबाट जारी भएको र उक्त ऐन कार्यान्वयनमा ल्याइने बताउनुभयो । सम्मेलनमा पूर्व नवलपरासीदेखि पश्चिम कञ्चनपुरका थारू मटावाँको सहभागिता रहेको छ ।