• २४ माघ २०८१, बिहिबार

पाँचथरमा गाउँपालिका उपाध्यक्ष र पत्रकारमाथि कुटपिट

blog

कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का र पत्रकार कुमार खड्का। फाइल तस्बिर

राधा लुइटेल

फिदिम, माघ २४ गते। पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का र पाँचथर एफएमका स्टेसन म्यानेजर कुमार खड्कामाथि कुटपिट भएको छ।बुधबार साँझ उपाध्यक्ष र पत्रकारमाथि यासोक बजारको एक होटलभित्र कुटपिट भएको हो ।

याशोक बजारकै स्थानीय चेतन लावती उनका बाबु र महेन्द्रबहादुर लावती (याम)ले होटल भित्र खाजा खाँदै छलफल गरिरहेका खड्काद्वयलाई  कुटपिट गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।

‘साँझपख यासोक बजारका दिवाकर शेर्माको होटलमा बजारको फोहोर मैला व्यवस्थापनका लागि स्थान पहिचान गरेर फर्केपछि खाजा खाँदै छलफल गरिरहेका स्थानमा कुटपिट भएको हो’, लावतीले भन्नुभयो ।

कुटपिटबाट घाइते द्वयलाई उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल बिर्तामोडमा पुर्‍याइएको छ।दुवै जनाको अनुहार सुनिएको छ। 

छलफलमा विवाद बढ्दा आक्रमण भएको पत्रकार खड्काले बताउनुभयो।प्रहरीले घटनापछि केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा, प्रेस चौतारी, पाँचथर एफएम र नेपाल प्रेस युनियको जिल्ला शाखाले विज्ञप्ति निकाल्दै पत्रकार कुटपिटको विरोध गरेका छन्।घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग विज्ञप्तिमा गरिएको छ।