लेखनाथ समाचारदाता
लेखनाथ, चैत ८ गते । गण्डकी प्रदेश सभाको आइतबारबाट सुरु भएको नवौं अधिवेशनमा राइड सेयरिङदेखि इनिशा विकको हत्यासम्मका प्रसङ्ग उठेका छन् । सभाको शून्य समयमा सांसद दमयन्ती रुचालले निर्मला पन्तदेखि इनिशा विकसम्मको हत्याका घटनाले देशमा छोरीहरू अझै असुरक्षित रहेको प्रमाणित गरेको जिकिर गर्नुभयो ।
“राज्य जवाफविहीन र मौन देखिन्छ, घटना घट्छ र विस्तारै सेलाउँछ,” उहाँले भन्नुभयो, “सबै बलात्कार र हत्याका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई आजीवन कैदको माग गर्दछु ।” प्रदेशसभा सदस्य दिलमाया पौडेलले पनि सामूहिक बलात्कार र हत्या नरोकिनुलाई सिङ्गो समाजको असफलताका रुपमा चित्रण गर्नुभयो । सांसद नन्दकला नेपाली दमाईले अन्तर्राष्ट्रिय महिला दिवसको अभियान चलिरहेकै बेला यस्ता जघन्य अपराध हुनुले महिला सुरक्षामा ठूलो प्रश्नचिह्न खडा गरेको जनाउँदै हत्यारालाई कुनै पनि हालतमा उम्कन नदिई छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
संसद हरिबहादुर भण्डारीले राइड सेयरिङको अन्योलबारे प्रश्न उठाउनुभयो । ऐनअनुसार नियमावली, कार्याविधि बनिसकेपछि कार्यान्वयन नभएकोमा उहाँले सरकारको जवाफ माग गर्नुभयो । “ऐन, नियम, कार्यविधि बनिसकेका छन्, दर्ता विना नै व्यवसाय चलिरहेको छ,” उहाँले भन्नुभयो, “सरकार कहाँ छ ? कहिले ऐन कार्यान्वयन हुन्छ ?”
सभामा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो दलको नेतृत्वमा देशमा अनेक महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । दलहरुबाट केही कमी, कमजोरी भएको उहाँको भनाइ छ । “हामीले विगतप्रति आत्मसमीक्षा गर्नैपर्छ । अहिले जनमतबाट हामी पछि परेका छौँ,” उहाँले भन्नुभयो, “संविधानलाई कसरी कार्यान्वयन हुन्छ भन्ने देखिनेछ ।” प्रदेश संवैधानिक संस्था भएको उल्लेख गर्दै उहाँले यसको प्रणालीमा कसैले दख्खल दिन नहुने उहाँको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता हरिबहादुर चुमानले पुराना अधिवेशनभन्दा भिन्न हुने र नयाँ परिस्थितिलाई हृदयङ्म गर्दै अघि बढ्ने अपेक्षा गर्नुभयो । लोकतन्त्रको सही अभ्यास नहुँदा निर्वाचनपछि पछिल्लो अवस्था सिर्जना भएको उहाँको भनाइ छ । नेता चुमानले भन्नुभयो, “हामीले संस्थागत सृदृढीकरण गर्न सकेनछौं, जनताको अपेक्षा पूरा गर्न सकेनौँ । हामी फेरिनैपर्छ ।”
नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सांसद महेन्द्रध्वज जिसीले जेनजी आन्दोलनपछि देशको राजनीतिले अप्रत्याशित कोल्टो फेरेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटना पृथक, पृथक भएको दाबी गर्नुभयो ।
गएको फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको बदलिएको राजनीतिक परिवेशमा भएको अधिवेशनको शून्य समयमा सांसदहरूले समसामयिक राजनीतिक, सामाजिक, सुरक्षा र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद महेश भट्टराईले मध्यपूर्व तनावले खाडी क्षेत्रमा रहेका लाखौं नेपाली श्रमिकको सुरक्षा जोखिममा परेको औंल्याउनुभयो । लीलबहादुर थापामगरले मध्यपूर्वको द्वन्द्वको असर नेपालीको चुल्होसम्म पुगिसकेको जनाउँदै इन्धनको मूल्य वृद्धि र पर्यटन क्षेत्रमा पर्ने प्रभाव कम गर्न प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । संसदहरु भक्तबहादुर कुँवर, श्यामराजा महत र भीमबहादुर कार्कीले आफ्नो क्षेत्रका समस्याहरु सुल्झाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभामा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेश सडक ऐन २०८१ ऐनलाई संशोधन गर्न बनेको ऐन सभामा प्रस्तुत गर्नुभयो। प्रदेश सभाको अर्काे बैठक चैत ९ गते बिहान ११ बजे बस्ने तय छ ।
आइतबार नै भएको पहिलो बैठक प्रदेशसभाका पूर्वसांसद कृष्णबहादुर थापाको निधनप्रति शोक प्रकट गर्दै सकिएको थियो । थापाको फागनु २८ गते हृदयघातका कारण निधन भएको थियो ।