• ८ चैत २०८२, आइतबार

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

blog

उपाधि विजेता टोली ।

काठमाडौँ, चैत ८ गते । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा  टिम च्याम्पियन  बनेको छ । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेको हो । 

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न प्रतियोगितामा पामले चार स्वर्ण र एक रजत जित्यो । दुई स्वर्णसाथ बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोश्रो तथा एक स्वर्ण र तीन रजतसाथ दाङ जुडो डोजो तेश्रो भए ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, पाँच रजत र आठ कांस्य जित्यो । 

पाँच स्वर्ण, तीन रजत र चार कांस्यसहित पाम दोश्रो भयो । तेश्रो स्थानको पेल्खिल डोजो क्लब, भुटानले तीन स्वर्ण, एक रजत र दुई कांस्य जित्यो ।जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार पाए । 

प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिनुभयो । आ-आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बन्नुभयो । 

प्रतियोगिताको अन्तिम दिन आइतबारै जुनियरतर्फ ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बंगलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते । महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बंगलादेश क्रिराकी फबिहा बुश्रा पहिलो हुनुभयो । 

विजेतालाई त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्राडा.रामकृष्ण महर्जन, आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।