राजु लामिछाने
रुकुम पश्चिम, चैत ८ गते । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको मुख्य सडकमा रहेका साँघुरा घुम्ती (मोड) चौडा बनाउन सुरु गरेको छ । सल्लीबजार–जाजरकोट सडकखण्ड अन्तर्गत जाजरकोटको बोहरागाउँदेखि छेडागाडसम्मका जोखिमपूर्ण घुम्तीहरू फराकिलो बनाइएको हो ।
डिभिजन कार्यालयले आफ्नै उपकरण र जनशक्ति परिचालन गरी सडक सुरक्षा सुधार गर्ने उद्देश्यले यो कार्य अघि बढाएको हो । डिभिजन प्रमुख खुमबहादुर भण्डारीका अनुसार खलङ्गादेखि छेडागाडसम्मका विभिन्न स्थानका जोखिमपूर्ण मोड विस्तार गरेपछि सवारी साधनको आवागमन सहज हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।
वि.सं. २०६४ मा निर्माण सम्पन्न भएको यो सडक जिल्लाको मुख्य मार्ग हो । यहाँबाट सुर्खेत, नेपालगन्ज, काठमाडौँ र डोल्पाका लागि दैनिक दर्जनौँ साना तथा ठुला सवारी साधन सञ्चालन हुन्छन् । यसअघि पाँचदेखि सात मिटर चौडाइ रहेका मोडहरूलाई हाल १० देखि १२ मिटरसम्म फराकिलो बनाइएको छ ।
चालक अर्जुन चौधरीले घुम्ती चौडा भएपछि सवारी साधन मोड्न सजिलो भएको र विपरीत दिशाबाट आउने साधनसँग ठोक्किने डर कम भएको बताउनुभयो । डिभिजन कार्यालयका नायब सुब्बा धनवीर केसीका अनुसार बोहरागाउँदेखि छेडागाडसम्मका ५४ वटा मोड चौडा बनाउने लक्ष्य रहेकोमा हालसम्म ३० भन्दा बढी मोडको काम सम्पन्न भइसकेको छ ।
सडक विभागको यान्त्रिक महाशाखाबाट उपकरण ल्याएर सब–इन्जिनियर विवशनाथ योगीको नेतृत्वमा प्राविधिक टोली फिल्डमै खटिएको छ । डिभिजन कार्यालयले आगामी दिनमा पनि अन्य जोखिमयुक्त सडक खण्डहरूको पहिचान गरी सुधारका कामलाई निरन्तरता दिने जनाएको छ ।