• ८ मंसिर २०८१, शनिबार

कथा:

बाँच्नु नै एक मात्र सपना

blog

नारायण तिवारी

 कोठामा ढल्किरहेको थियो ऊ । के मुड चल्यो, उठ्यो । बाहिर निस्कियो । बरन्डामा श्रमिती कमला देखिइन् । उनी फुटेको कुर्कुच्चालाई रगडी रगडी सफा पार्ने प्रयत्न गर्दै थिइन् । 

“हैन, बुढेसकालमा तरुनी हुने रहर चलेकै हो त ?” उसले जिस्क्यायो । 

“आः नकराऊ बूढा... ! बरु पछाडि हेर त साग कत्रो भयो, टिप्नु पर्छ ।” 

“तिमीलाई त नि एकछिन यसो ठट्टा गरौँ भने पनि नपाइने ।” ऊ यसो भन्दै टुसुक्क नबसी उठ्यो र घरपछाडि भएको थोरै ठाउँको करेसाबारीमा पुग्यो । सागतिर यसो ध्यान दिन पनि पाएको थिएन, घरै ढल्ला किजस्तो गरी हल्लाई त हाल्यो ।

के गरौँ, कसो गरौँ भयो उसलाई । घरपछाडि बारीमा होचो पर्खाल थियो । बाहिर अर्कोपटि भने झन्डै दस फिट गहिरो खेत थियो । गहुँ खेत । खुला ठाउँ भएकाले आत्तिएर उतै फाल हाल्यो । त्यतिबेला उसलाई कसैको सम्झना आएन । न भर्खरै ठट्टा गरेकी श्रीमतीको न कोठाभित्र बसेर ल्यापटप चलाइरहेको छोराको । सोच्यो– ज्यान बचाउने बेला आफ्नै फिक्री हुँदो रहेछ । यस्तो उसलाई मात्र भएको हो कि अरूलाई पनि, थाहा छैन ।

गहुँबारीमा गहुँ काटिरहेका किसान देखिए । ऊ फाल हालेपछि उठ्न खोज्थ्यो, अलिक पर्खालको दायराबाट, घरको दायराबाट टाढा भाग्न खोज्थ्यो । हिँड्न सक्दैनथ्यो, लडिहाल्थ्यो । पृथ्वी निरन्तर चलायमान थियो । 

ती किसान दम्पतीले हात हल्लाएर इसारा गरे । बोले– “बस्नुस् दाइ, बस्नुस्... !”

ऊ त्यसपछि उनीहरूको सल्लाहअनुसार टुक्रुक्क बस्यो । पृथ्वीको कम्पन रोकिएको थिएन । टुक्रुक्क बस्दै, अलिकति घस्रिँदै ती दम्पती नजिक पुग्ने प्रयासमा लाग्यो... । ऊ जब उनीहरूका समीप पुग्यो, त्यसबेला भूकम्प रोकिएको जस्तो भयो । बल्ल केही राहत महसुस ग¥यो । बल्ल श्रीमती कमलाको, कोठाभित्रको छोरा राजेशको, बाहिर पढ्न बसेकी छोरी रितुको सम्झना ग¥यो । 

उसले हाफपेन्ट लगाएको थियो । हाफपेन्टमा मोबाइल छाम्यो । झिक्यो र थिच्न खोज्यो । अहँ, मोबाइल चलेन... ।

एकछिनमा उसको छोरो बाटोमा देखियो । छोरोले ऊतिर हेर्दै थियो । उसलाई छोराको हेराइ अनौठो लाग्यो । 

उसले कराएर भन्यो, “आमा खोइ ? आमालाई लिएर आइज । यो खुला ठाउँमा सुरक्षित होइन्छ, आइज ।”

छोरोले जबाफ फर्काएन । छोरोको आँखा अनौठो थियो । उसलाई नचिनेजस्तो । ऊसँग बोल्न नखोजेजस्तो । सायद सोचिरहेको जस्तो– ‘यी बूढालाई मर्न कति डर ?’  

सोचिरहेको जस्तो– ‘म जवान छु, बिहे भएको छैन, भर्खर जागिर खाँदैछु । कति सपनाहरू छन्, पूरा गर्नु छ मलाई तर डर छैन । यी बूढाका त सबै सपना सकिए । अब पनि मर्न के को डर...?’

ऊसित धेरै ठूलो जबाफ थिएन । यस्तो भने सोच्यो– ‘यो सुन्दर संसारमा बाँच्ने रहर मेरो पूरा भइसकेकै छैन । अझै बाचुँ, धेरै बाचुँ– यही हो मेरो सपना । तिमीहरूको होला अरू नै ठूला–ठूला सपना । मेरो त ‘बाँच्नु’ नै हो एक मात्र सपना ।’

उसको छोरो राजेशले न उसलाई जबाफ फर्कायो, न ऊ आपूm नै आयो । न आमा चाहिँलाई लिएर आयो । ऊ छिनमै देखिएको ठाउँबाट विलाएको थियो । 

उसलाई भने भुइँचालोले बाहिर मात्र होइन, भित्र मुटुमा पसेर पनि हल्लाएको थियो । मुटु पनि त्रसित र कम्पित भइरहेको थियो उसको । 

खेतमा पानीको भल फुटेको देखियो । 

“यो पानी पहिले यहाँ थियो ? यो त भल फुटेजस्तो छ नि... !” उसले किसान दम्पतीसित भन्यो । 

लोग्ने किसानले भन्यो, “हो, पानी थिएन । धाँजा फाटेजस्तो छ । त्यसैको भल फुटेको होला... !”

दस मिनेट, पन्ध्र मिनेट, बीस मिनेट– यसैगरी उभिएरै बित्यो । छोरा माथि बाटोमा बाबुलाई हेर्दै फेरि देखिएन । किसान दम्पती पनि ‘अब त लाग्नु पर्छ’ भन्दै माथि बाटोतर्फ उक्लिए । हिँडे । उनीहरूलाई पनि चिन्ता भयो होला– घर के भयो ? केटाकेटीहरू के भए ? 

त्यसपछि मन कम्पित गर्दै ऊ पनि उक्लियो माथि बाटोतिर । 

वरिपरिका घर सकुशल देखिए । तल अघि बारीबाट पनि ऊ बसेको घर सकुशल देखिएकै थियो । माथि बाटोमा उक्लिएर अगाडिबाट देख्यो– अगाडिको भाग पनि सकुशल नै । भित्र के होला ?

बाटोको माथिल्लो भागमा पनि एक ठाउँ खुल्ला थियो । ठूलै ठाउँ । त्यहाँ कहिले केटाकेटी खेल्थे, कहिले खनजोत गरेर सागसब्जी लगाएको हुन्थ्यो । यसबेला त्यस ठाउँमा सबै टोलका मानिस भेला भएका थिए । ऊ त्यतैतिर डोरियो । 

श्रीमती कमला त्यहीँ देखिइन् । उसको छोरो राजेश त्यहीँ । शनिबारको दिन भएकाले होला प्रायः टोलका सबै मानिस त्यहीँ देखिए । 

श्रीमतीले उसको आँखामा हेरिन् र जिस्क्याइन्– “क्या हो बूढा, बूढीलाई छोडेर एक्लै फाल हाल्या...?”

“घरै ढल्लाजस्तो भयो त म के गर्नु... ?” यत्ति बोल्यो ऊ र थचक्क त्यहीँ बस्यो । कोही उभिएका थिए, कोही बसेका थिए । 

श्रीमती कमलाले उसको घँुडातर्फ दृष्टि पु-याइन् र भनिन्– “ओहो, बूढालाई त...!” उसले आफैँ थाहा नपाएको, देख्यो– घुँडा तछारिएको थियो । 

अहिले भने खुट्टा दुखेको महसुस हुन थाल्यो उसलाई । तर आफैँलाई झट्कियो र बोल्यो– “कहाँ यत्रो भुइँचालो, कति मरे हुन्, कति विनास भए हुन् । यो मेरो यत्ति, केही होइन... !”

एक–एकछिन्मा हल्लाहरू आउन थाले । धरहरा ढल्यो । सिंहदरबार ढल्यो । झक्तपुर सबै खत्तम्...।

कहाँबाट थाहा पाए यी मान्छेहरूले ? फोन लाग्दैन, यो हल्ला कसरी ? ऊ भित्र तर्कहरू उप्जिन्थे ।

छोरीलाई फोन गर्न खोज्यो । पटक्कै लागेन । ऊ धरानमा थिई, पढ्न बसेकी । 

“म्यासेज गर्नुस् न, म्यासेज”, कहिल्यै नबोल्ने टोलका ठालु रामबाबुले प्याच्च भने । 

“ए, ए, धन्यवाद”, भन्दै छोरीलाई मेसेज ग-यो । लेख्यो– “नानी, यता सबै ठीक छ । त्यता कस्तो छ ? तिमीलाई कस्तो छ ?”

मेसेजमै छोरीको तुरुन्त जबाफ फर्कियो– “ठीक छ मलाई बाबा ! यता केही छैन । राम्ररी बस्नु है बाबा !”

उसले तुरुन्त फेरि जबाफ पठायो– “हामी बाहिर खुला चौरमा छौँ, केही हुँदैन । चिन्ता नगर है ! उता विराटनगरमा हजुरबा, हजुरआमालाई पनि भनिदेऊ !”

यसपछि अरूहरूतिर पनि खोजखबर लियो । बाआमा उतै हुनुहुन्थ्यो विराटनगरमा, उहाँहरूलाई, साथीभाइलाई, अरू इष्टमित्रहरूलाई फोन चल्न थालेपछि फोन गरूँला– यस्तै सोच्यो । 

एक–एकछिन्मा ‘उः हल्लायो’ भन्दथे । वास्तवमा फेरिफेरि पनि बेलाबेला भुइँ कम्पायमान भइरहेको थियो । पहिलेको जस्तो ठूलै नभए पनि बेलाबेला भुइँ हल्लिरहेकै थियो ।

यसो कोही आफ्नो घरतिर जान थालेको जस्तो देखिए पनि ‘उः हल्लायो’ भन्नासाथ दौडिएर फिर्ता यसै ठाउँमा आउँथे । 

‘उः आयो’ र ‘अझै आउँछ’को हल्ला अब मुखमुखमा चल्न थाल्यो । सबै बोलिरहेका देखिन्थे । 

एकजना यस टोलका अति जान्नेसुन्ने हुँ भन्नेले त यस्तोसम्म घोषणा गरिदिए– “अब अझै ठूलो भुइँचालो आउँदैछ । नासाले भनेको नौ रेक्टरको आउँदैछ... ।” 

उनको नाम पनि ऊ जान्दैनथ्यो । उनी सानो साइजको ल्यापटप हो कि ‘ट्याबलेट’ भन्छन् कि के जाति, हातमा बोकी बोकी, देखाई देखाई हल्ला गर्दथे । उनलाई मतलब थिएन– भूकम्पले कम्पायमान भइरहेको मान्छेभित्र यो हल्लाले अझै कस्तो कम्प चल्नेछ ?

अर्को एकजना परबाट आउँदै भन्दै अघि बढ्यो– “उः त्यहाँ दुईवटा साँप देखिए । साँप देखिएपछि योभन्दा ठूलो भुइँचालो जान्छ ।”

“कसले भन्यो हँ तपाईंलाई ? यस्ता फाजिल कुरा नगर्नुस् ।” उसले कराएर विरोध ग¥यो । त्यो मानिस उसको कुरा सुने पनि नसुनेजस्तो गरेर हिँडिरह्यो ।

ल्यापटप बोकेर नासाको हवाला दिएर, आफैँ जासु (जान्नेसुन्ने) बनेर भविष्यवाणी गर्ने महानुभावलाई पनि सम्झायो उसले– “यसरी मान्छे त्रसित भइरहेका बेलामा यस्तो कुरा नगर्नुस् । हो भने पनि, होइन भने पनि मनभित्रै राख्नुस् ।”

ती जान्नेसुन्ने मानिसले यत्रो आँखा फुकालेर हेरे उसलाई । त्यसपछि केही नबोली हिँडे । अब तिनले अर्को खुलाचौरमा बसेका पीडित मान्छेको समुहमा गएर तर्साउने होला भन्ने लाग्यो उसलाई । 

“जाने त एकपल्ट घर ?” श्रीमती कमलाले उठ्दै भनिन् । 

“पिसाब पनि लागिरहेको छ । अन्त कहाँ जानु । जाऊँ हिँड । घर पनि के–कस्तो भएछ, देखिन्छ, हेरिन्छ ।” ऊ पनि उठ्यो । 

उनीहरू डराई–डराई घरभित्र पसे । ठाउँ–ठाउँमा भुइँ चर्किएको थियो । माथि छतमा पनि एउटा कोठामा चर्किएको धर्सा देखियो । 

“हे, केही हुन्न यतिले । भुइँ घर हो, डराउनु पर्दैन ।” उसले नै कमलालाई सान्त्वना दियो । भित्र ‘डर’ थियो । तर बाहिर प्रकट नगर्ने प्रयत्न पनि उसको थियो । 

पराकम्प छिन्छिन्मा आउने क्रम रोकिएको थिएन । घरमा यसो विचार ग¥यो उसले, बिजुीबत्ती गुल थियो ।

लाइन नै नभएपछि टीभी, रेडियो समाचारको कुरा के कुरा ! 

“म त एकछिन् आराम गर्छु है !” यसो भन्दै ऊ ओछ्यानमा ढल्कियो । श्रीमतीले ‘हुन्न’ भन्दै तानिन् । उठाइन्– “छिटो पिसाब गर्नुस् । भुइँचालो फर्किन्छ । यहाँ बस्नु हुँदैन । जाऊँ उतै ।”

हुन त उसलाई भित्री मनमा घरभित्र बसिरहने इच्छा थियो कहाँ ! केवल श्रीमती नडराउन् भन्ने अभिप्रायका हावभावहरू ऊ गर्दथ्यो । 

“भोक लाग्यो नि के गर्ने ?” उसले भन्यो ।

कमलाले हत्तपत्त चिउरा र भुजिया निकालिन् । त्यसको पोको बोकेर उसलाई पनि तान्दै बाहिर निकालिन् । 

“आयो, आयो ।” बाहिर फेरि हल्ला आयो । कति छाँटिएका मानिसहरू फेरि उतै, उही खाली ठाउँतर्फ कुदे । 

ऊ ‘नडराउन्’ भन्दै ढाढस दिन खोज्ने मान्छे पनि कुद्यो, दौडियो... !            

यो पराकम्पनको त्रासबाट कहिले, कसरी मुक्ति प्राप्त गर्ने हो ? उसको मनभित्र पनि त्रासको बादल हटिसकेको थिएन । पराकम्पन गइरह्यो छिन्छिन्मा मनभित्र पनि ।

बाहिर त्यसै खाली ठाउँमा, देखियो– केटाखाल पाल टाङ्न तयारी गर्दै थिए । त्यसमा उसको छोरो राजेश पनि सक्रिय देखियो ।

राजेशले भन्यो– “अब यतै बस्ने हो...।” 

उसको आँखामा प्रश्न थियो– ‘कहिलेसम्म ?’

राजेशले उसको आँखाको प्रश्न ठम्याएझैँ गरी बोल्यो– “पाँच सात दिन त बस्नै पर्छ । यो पराकम्पन कहिलेसम्म आइरहने हो, कुनै ठेगान छैन । कत्रो आउने हो, त्यसको पनि ठेगान छैन ।”

“अनि दिसा पिसाब नि ? खानापिना ?”

“त्यसको चिन्तै नलिनु्स् अङ्कल । सबथोक यतै हुन्छ ।” राजेशसितै खटिरहेको टोलको दिनेशजीको छोरो बोल्यो । सायद प्रदीप हो क्यारे उसको नाम– उसले सम्झिन खोज्यो ।

ऊ तल बिछ्याइसकिएको ‘म्याट’मा ढल्यो । कमला पनि थ्याच्च बसिन् । 

सधैँ ठालु पल्टिने चारतले ठूला घरका नबोल्ने मानिस रामबाबु पनि ऊ नजिक आएर ढले । 

“घरमा त सुत्न सकिन्न । अब यो पालको बास कहिलेसम्म हुने हो ?” उनी ऊसित बोल्न खोजे । 

“के गर्नु, यो प्राकृतिक प्रकोप मान्छेको वशमा रहेनछ त । खोइ, कहिलेसम्म हो... !” उसले पनि उनको बोलीमा लोली मिलाइदियो र आँखा चिम्लियो– ईश्वरको अस्तित्वमा एकरत्ति पनि विश्वास थिएन । तर मनमनै कामना ग¥यो– हे ईश्वर, अब भयो । बन्द गर अब यो कम्पन...।

तर ईश्वर भए न सुन्थे । नभएको भगवानले के सुन्नु ? भोलिपल्ट पनि झन्डै उस्तै समयमा आइतहाल्यो मुटु हल्लाउने गरी उही, उस्तै भुइँचालो । 

यस भुइँचालोपछि त झन् कतिका मन बढे । उही, ‘साँप निक्लिएपछि भुइँचालो आउँछ भन्या होइन, यी आएन फेरि भुइँचालो’ भन्दै हिजो तर्साउने मान्छे आज पनि त्यस टोलमा रहेको त्यस झुन्डलाई तर्साउँदै, हिँड्दै अघि गयो । 

हिजो त्यो ल्यापटप हो कि ट्याब्लेट हो, बोकी बोकी, देखाई देखाई तर्साउँदै हिँड्ने, नासाले भन्या छ नौ रेक्टरको भुइँचालो फेरि आउँछ भन्ने मानिस फेरि आज पनि टुप्लुक्क देखापरे । उनको हातमा आज पनि त्यो केजाति ल्यापटप हो कि ट्याब्लेट थियो ।

तर आज उनको मुख खुलेन । उनी आज ऊसित आँखा जुधाउन खोज्दै थिए । उनले यत्रो–यत्रो, ठूलो–ठूलो आँखा पारेका थिए । 

उसलाई ती जासु मानिसलाई चलाउन मन लागेन । तर पनि लागिरहेको थियो यिनले मुख नखोलुन् । यिनले आफ्नो मुख बन्द नै राखुन् । 

उनी यसै टोलका थिए । नाम थाहा नपाए पनि उसले ती मानिसलाई सधैँ देखिराखेकै हो तर ती मानिस उसको झुन्डमा बसेनन् । कहाँ बसे ? कि, आफ्नै घरमा ? कि रातरातभरि झुन्डझुन्डमा झ्याली पिट्दै हिँडे ? आज अरू पनि धेरै खबरहरू आइसकेका थिए । कहाँ, के–के भयो, जानकारीहरू धेरै प्राप्त भइसकेका थिए । 

बिजुलीले रेडियो, टीभीलाई रोके पनि बिहानै पत्रिकाहरू हात–हातमा पुगिसकेका थिए । 

हिजो बाह्र गतेको, बाह्र बजेको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक ! बारपाकका सबै घरहरू ढले । धेरै मानिस मरे । कहाँ के–के क्षति भयो, सबै खबर पत्रिकामा थिए ।

ल्यापटप बोकी बोकी हिँड्ने जासु मानिस सायद दाउ खोजिरहेका थिए । ऊ नजिक आएर ऊसितै आँखामा आँखा जुधाएर बोले– “हिजोको बारपाक ७.९ रेक्टर स्केल । आजको ७.६ सिन्धुपाल्चोक । अहिले भर्खर नेटबाट पत्तो पाएको छु । अब अर्को कत्रो आउँछ ?”

यति भनिसकेपछि उनी एकछिन् चुप लागे र उठ्दै उसले मात्र सुन्नेगरी जस्तो फुसफुसाउँदै फेरि बोले– “नौ रेक्टर ! नौ रेक्टर ! नौ रेक्टर... !” विस्तारो–विस्तारो मधुरो स्वर पार्दै उनी एकातर्फ लागे । 

“कस्तो बहुलाजस्तो मान्छे !” उसको मुखबाट ती मानिस पर पुगेपछि निस्कियो । कसैलाई के धन्दा, कसैलाई स्थितिलाई अझै त्रासमय बनाउनुपर्ने, के भएको होला ! मनमा त्रास त छँदै थियो, उसले कुरा खेलाइरह्यो... ।

केटाहरूले सबै व्यवस्था गरिरहेका थिए । महिलाहरू सामूहिक भात भान्सामा लागेका त थिए तर उनीहरू सबै त्रसित थिए । १२ गते र १३ गतेको भुइँचालोले धेरै त्रसित बनाएको थियो । त्यसपछिका सात दिन, सात रात त्यसै खुला ठाउँमा बिते । भान्सा त्यहीँ । पिसाब फेर्ने, दिसा गर्ने टेम्प्रोरी ठाउँ त्यहीँ । सबै व्यवस्थापन जुझारु टोलका युवाले गरे । तर उसलाई त निद्रा लागे पो... !

सात दिनपछि ‘आः होस्, जाउँ घरै जाउँ’ भन्दै कमला अघि सरिन् । 

“जाऊँ बुवा !” भन्दै राजेश पनि तयार भयो । 

“थोरै चर्किएको छ, केही हुन्न ।” उसले थप्यो । 

बाहिर लामखुट्टेले टोकाएर, बेलाबेलामा आउने पानीमा भिजेर बस्नुभन्दा घरै जानु वेश– यस्तै सोच्यो । उसले मात्र होइन, धेरैले यस्तै सोचे हुन् । त्यसपछि ऊ, कमला र राजेश सबै आफ्नै घरमा...!

डीभी परेर अमेरिका भासिएका ऊ बसेको घरका मालिकलाई आफूले दुःख गरेर बनाएकाले होला घरकै पहिला माया लागेको । उसले सोच्यो– घरमा भाडा तिरेर बस्ने उनीहरू उनकै घरले किचिएर मरेको भए पनि के माया लाग्दो हो ? किनभने, घरमा प्रवेश गर्नासाथ बजेको टेलिफोनको पहिलो घण्टी उनकै थियो । उनले एकसासमा सोधेका थिए– “घरलाई केही क्षति त भएन ? पछाडिको पर्खाल अलिक कमजोर थियो, ढल्न त ढलेन... ?”

उसले पर्खाल नढलेको र घर पनि नढलेको जनाउ दिएको थियो ।

केही दिनसम्म अझै त्यस पालमुनि एक दुई परिवार देखिए । 

विस्तारै जनजीवन सामान्य बन्दै थियो । दिनहरू घड्किँदै जाँदै थिए । 

यस्तैमा फेरि वैशाख २९ गते ठूलै भूकम्प आयो । ऊ घरमै थियो । श्रीमती घरमै थिइन् । दुवै त्रसित हुँदै दगुरे । उही साबिक पाल भएको ठाउँमा । सबै पहिलाका यस टोलका मानिसहरू भेला भए । 

यस टोलमा कसैका घर यस २९ गतेको भुइँचालोले पनि ढलेन । तर यस भुइँचालोले धेरैको मन ढल्यो । 

उसले भन्यो– “अहँ, अब त म विराटनगर जान्छु । यहाँ बस्दिनँ ।”

श्रीमतीले भनिन्– “अनि छोरालाई छोडेर... ?”

“ऊ पनि जान्छ नि ।” उसले भन्यो ।

“उसको जागिर छोडेर कसरी जान्छ ?”

“ऊ बाध्य छ बस्न । हिँड, ऊ बस्छ । नभए बिदा लेओस् केही दिन ।”

“म कहाँ जानु ! सरकारी जागिरमा हुनेले झन् जनताको सेवा गर्ने बेला हो यो । तपाईंहरू जानुस् । एक महिना बसेर, अलिक साम्य भएपछि आउनुस् ।” राजेशले भन्यो । 

फेरि केही छिन् सोचेजस्तो गरेर बोल्यो– “अनि, विराटनगरमा चाहिँ भूकम्प आउँदैन भन्ने छ र ?” 

राजेश भन्दै थियो– “ल हाम्रो त विराटनगरमा घर छ अरे । हामी त्यहाँ जाने । अनि यहाँ घर भएका अरू ठाउँ कतै केही नभएकाहरू कहाँ जानु ?”

कुरा त ठीक गर्दैछ । भुइँचालो उता पनि आएकै छ । हो, भुइँचालोको केन्द्रविन्दु यता भएकाले यता बढी हल्लिन्छ, बढी क्षति हुन्छ । तर उता केन्द्रविन्दु भएर आयो भने के हुन्छ ? उसले मनैमन सोच्यो । कि भूकम्पको केन्द्रविन्दु तराई–मधेसमा हुँदैन, पहाडमा मात्र हुन्छ ? थाहा छैन उसलाई । उसले सोच्यो मात्र । केही बोलेन । खालि, छोराको भाषण सुनिरह्यो ।

“अनि तेरो बाउको डरलाई कसरी भगाउँछस् नि ? निद्रा लाग्दैन तेरो बाउलाई, के गर्छस् ?” उसको बदलामा श्रीमती कमला बोलिन् । 

वास्तवमा उसले प्रारम्भिक दिनमा निडरता प्रदर्शन गर्न खोजे पनि कमलाका अघि भित्री गुह्य छिप्न सकेको थिएन । भित्रको त्रास उनले उसको अनिद्रा र छट्पटीमा कैयौँ पटक पढिन् र कुरा बुझिन् । बरु भजन कीर्तनकी देवी कमला पो सधैँ फ्वाँ फ्वाँ निदाइन् । 

छोरा झर्केझैँ गरी बोल्यो– “लु, लु जानुस् । म सरकारी जागिरे कहाँ जानु ?” यति भनेर ऊ हिँड्यो । एक डेढ घण्टापछि ऊ फर्केर आयो । उसको हातमा रात्रिबसको दुईथान टिकट थियो । 

कमला भन्दै थिइन्– “अनि तँ कसरी बस्छस् ? कहाँ खान्छस् ? तेरो हेरविचार कसले गर्छ ?”

उसले एक सुनेन । त्यो रात्रिबसको टिकट भोलिको दिनको थियो । भोलिपल्ट छोराले उनीहरूलाई कोटेश्वर पु¥यायो जहाँ रात्रिबस लागिरहेको थियो । त्यस बसमा उनीहरूलाई हुलेर ऊ फर्कियो ।        

“राम्ररी बस है बाबु !” आमा चाहिँ भन्दै थिइन् । 

ऊ भने थोरै भए पनि चर्किएको डेराघरलाई बाईबाई गर्दै थियो । मनमनै भन्दै थियो– कि भुइँचालोलाई नबोलाउनु, कि मलाई नबोलाउनु । बिदा काठमाडौँ बिदा... !” 

विराटनगर, मोरङ 

हाल : महालक्ष्मी नगरपालिका–८, ललितपुर ।