काठमाडौँ, माघ २३ गते। सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) सत्ताको गुणगान गाउन नभई जनताका लागि निर्माण भएको बताउनुभएको छ।
प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिद्वारा बुधबार काठमाडौँमा आयोजित छैठौं जिल्ला अधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सत्ताको गुणगाण गर्न होइन, जनताका लागि पिएसबी। राष्ट्रका लागि पिएसबी मन्त्री, प्रधानमन्त्रीको गुणगान मात्र गाउने होइन, सत्य सामाग्रीबाट सुसूचित गर्नका लागि पिएसबीको अवधारणा ल्याइएको छ।”
वास्तवमा जनताको सूचना दिने संस्था बनाउन पिएसबीलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ। मन्त्री गुरुङले भन्नुभयो, “सत्तारुढ दलको सूचना प्रवाह गर्ने गोरखापत्र, रेडियो नेपालले हो।मन्त्री, प्रधानमन्त्रीले गरेको सही काम त्यहाँ आउनुपर्यो तर, प्रतिपक्षीको आवाज पनि त्यहाँ आउनुपर्यो।”
उहाँले प्रेस चौतारी बुद्धिजीविको सङ्गठन भएकोले यसको वैचारिक काम ज्यादा हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “यो बुद्धिजीविको सङ्गठन, यस्तै वकिलको पनि छ।यो सङ्गठन अरू जनसङ्गठनभन्दा फरक हुनपर्ने हो।वैचारिक काम ज्यादा हुनुपर्छ।जसले गतिशीलता, क्षमताको विकास गर्छ।”
उहाँले सङ्गठनभित्रैबाट सङ्गठनात्मक अराजकता सिर्जना भइरहेको हुँदा यसको अन्त्य गर्नुपर्ने भनाइ पनि राख्नुभयो।
“उहाँले भन्नुभयो, “सङ्गठनात्मक अराजकता सङ्गठनभित्रै सिर्जना गरिरहेका छौं।अराजकता बाहिरबाट आएको छैन,आफैंबाट सिर्जना भएको छ, यो अन्त्य गर्नुपर्छ।”
उहाँले सत्य समाज निर्माण एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन र समृद्धि हासिल गर्न प्रेस चौतारी जस्ता जनसङ्गठनको भूमिका रहनुपर्ने बताउनुभयो। भाषण गर्नेभन्दा जनताको सेवा गर्न सिकाउने सङ्गठनका रूपमा प्रेस चौतारी नेपाल अघि बढ्नुपर्ने सुझाव उहाँको छ।
नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेलले भ्रमपूर्ण समाचारका कारण राष्ट्रिय जनमत नै नकारात्मक दिशातिर जाने चिन्ता भएको बताउनुभयो।
नेता पोखरेलले भन्नुभयो, “फेक न्युजका कारणले राष्ट्रिय जनमत नकारात्मक दिशातिर जाने चिन्ता छ।यस सन्दर्भमा प्रेस चौतारीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।”
उहाँले देशमा स्थिरताका लागि दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार सञ्चालन गरेको बताउनुभयो। उहाँले २०८४ को चुनावमा एमालेले बहुमत ल्याउने दाबी पनि गर्नुभयो।
यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रतालाई हनन् हुने कुनै पनि गतिविधिसँग सम्झौता नहुने धारणा राख्नुभयो।
उहाँले नेपाल पत्रकार महासङ्घमा ऐतिहासिक रूपमा महिला अध्यक्ष निर्वाचित गराउन तथा नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेसका नेतालाई एकता प्रक्रियामा ल्याउन चौतारीले भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्षद्वय राजेश राई र देविका घर्ती मगर, पूर्व उपाध्यक्ष विश्वमणि सुवेदी लगायतका नेताले शुभकामना मन्तव्य राख्नुभएको थियो।