काठमाडौँ, माघ २३ गते । रोमानियाकी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सिमोना हालेपले खेलबाट सन्न्यास लिनुभएको छ । दुई पटककी ग्रान्डस्लाम विजेता हालेपले सक्रिय खेल जीवनलाई विश्राम दिने निर्णय गर्नुभएको हो ।
ट्रान्सिल्भेनिया ओपनको पहिलो चरणमा लुसिया ब्रोन्जेट्टीसँगको ६–१, ६–१ को सेटमा पराजित भएपछि हालेपले आफ्नो खेल जीवनलाई विश्राम दिने घोषणा गर्नुभएको थियो ।३३ वर्षीया हालेप घुँडाको चोटका कारण गत महिना पनि अस्ट्रेलियन ओपन छनोटबाट बाहिरिनुभएको थियो ।
‘‘मेरो लागि यो नै सही समय हो भन्ने लागेर मैले टेनिस छाड्ने निर्णय लिएको छु। मेरो टेनिस यात्रा निकै यादगार रह्यो । म विश्व नम्बर एक भएँ, ग्रान्डस्लाम जितेँ । त्यो नै मेरा लागि ठूलो सफलता रह्यो,’’ हालेपले भन्नुभयो ।
हालेपले सन् २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डनको उपाधि जित्नुभएको थियो । उहाँले हालेपले २२ डब्ल्युटिए उपाधि पनि जित्नुभएको छ ।
हालेपमाथि एन्टी डोपिङ नियम उल्लङ्घन गरेको आरोपमा प्रतिबन्ध गरिएपछि उहाँले सन् २०२४ मा टेनिसमा पुनरागमन गर्नुभएको थियो । एजेन्सी