गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । वीर अस्पतालले ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता पाएको छ । औषधी व्यवस्था विभागले सो अस्पताललाई ‘रिजनल फार्माकोभिजिलेन्स’ (औषधीको असर तथा गुणस्तरबारे रिपोर्ट गर्ने) सेन्टरको मान्यता दिएको हो । विभागले औषधीय सतर्कता (फार्माकोभिजिलेन्स) कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवधिक रूपमा विभागमा रिपोर्टिङ गर्ने गरी सेन्टरको मान्यता दिएको हो ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सेन्टरको मान्यता पाउनु बिरामी, चिकित्सक र अस्पतालका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सेन्टरबाट बिरामीलाई प्रयोग भइरहेको औषधीको गुणस्तर, औषधीको असरलगायतका विषयमा जानकारी हुने बताउनुभयो । उहाँले चिकित्सकले पनि आफ्ना औषधीले काम गरेको नगरेको हेर्ने र असर देखिए तत्काल रिपोर्ट गर्न सकिने बताउनुभयो । निर्देशक डा. पौडेलले बिरामीका लागि औषधी प्रयोग गर्दा नकारात्मक असर देखिन सक्ने भन्दै यस्ता असरबारे औषधी व्यवस्था विभागलाई समयमै रिपोर्टिङ गर्न सहज हुने जानकारी दिनुभयो ।