• २२ माघ २०८१, मङ्गलबार

चार वर्षपछि पुल निर्माण सुरु

blog

होमराज रानाभाट

कावासोती, माघ २२ गते । कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गा खोलामा पक्की पुल निर्माणको ठेक्का लागेको चार वर्षपछि बल्ल पुल निर्माण हुने भएको छ । खोलामा पक्की पुल नबनाई बेपत्ता भएका ठेकेदार चार वर्षपछि सम्पर्कमा आई अहिले पुल निर्माणका सामान खोला किनारमा झार्न थालेपछि पुल बन्ने भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । 

कालीगण्डकी कोरिडोरमा रहेका खोलामा सबै ठाउँमा पक्की पुल निर्माण सम्पन्न भइसक्दा पनि तरङ्गा खोलामा पुल बन्न सकेको थिएन । चार वर्षअगाडि ठेक्का पाएको लोहनी ब्रदर्स चितवनका ठेकेदार अशोक लोहनीले खोलाका दुवैतिर सामान्य काम गरेर एकाएक फरार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल नै नबनाई अलपत्र पारी फरार भएका ठेकेदार अहिले भने पुल बनाउन आएको स्थानीयले बताएका छन् ।  

पटक पटक प्रशासनको ध्यानाकर्षण गराउँदा पनि प्रशासनले समेत बेवास्ता गर्न थालेको भन्दै स्थानीय युवाले वैकल्पिक यात्राका लागि कलभर्टसमेत व्यवस्था गरी यातायातका साधन आवागमन गराउन सहयोग गरेको बुलिङटारका स्थानीय शिक्षक लोकप्रसाद रामदामले बताउनुभयो । 

खोलाको पुलको जिम्मेवारी पाएको लोहनी ब्रदर्सले काम पूरा नगरेको मात्र होइन, स्थानीयसँग लिएको सामानको रकम तिर्नसमेत बाँकी रहेको स्थानीयले बताएका छन् । चार वर्षदेखि खातामा पैसा नभएको चेक दिने, पैसा माग्दा धम्क्याउने र उल्टै स्थानीयलाई पैसा तिर्नुको साटो अनेक आरोप लगाएकाले स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको बुलिङटार–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । आफूहरूले सो पुलको सामान बोकेको र चार वर्षदेखि पैसा नदिएकाले स्थानीयले पुल निर्माणका लागि ठेकेदारले ल्याएका सामान उठाएर राख्न बाध्य भएको उहाँले बताउनुभयो । पटक पटक काम गरेको पैसा माग्दा जालझेल गरी दुःख दिन थालेपछि स्थानीयले सामान उठाउन बाध्य भएको र पैसा भुक्तानी दिनासाथ ठेकेदारको सामान जस्ताको तस्तै उठाएकै ठाउँमा पु¥याइदिने वडाध्यक्ष मगरले बताउनुभयो । 

तीन करोड ११ लाख रुपियाँको लागतमा निर्माण सुरु भएको सो पुलको अहिले दुवैतिर पिल्लर उठाउने काम भएको छ । अरू धेरै काम हुन बाँकी रहेको र एक वर्षमै सक्ने पुल म्याद थप्दै चार वर्ष बित्दा पनि सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेपछि घटना बाहिर आएको हो । 

अहिले कालीगण्डकी कोरिडोर व्यस्त सडकका रूपमा रहेको छ तर पुल बन्न नसक्दा यो सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आइरहेका छन् । प्रशासनले चाँडो सम्बन्धित ठेकेदारलाई बोलाएर काममा विलम्ब नगर्न निर्देशन दिएको छ । 

ठेकेदार कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न हुने र उठाइएको सामान फिर्ता ल्याएपछि काम सुचारु गर्ने जनाएको छ । ठेकेदार पक्षले सबैको बाँकी रकम आफूले बुझाउन तयार रहेको र कसैलाई दुःख दिने नियत नभएको ठेकेदार अशोक लोहनीले बताउनुभयो ।