नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ । यो क्षेत्रको विकास नगरी समग्र देशको विकास भएको मान्न सकिँदैन । समग्र देशको विकास गर्न योजनाबद्ध विकास प्रक्रिया अपनाइयो । देशमा प्रजातन्त्रको प्रादुर्भावपश्चात् विभिन्न राजनीतिक प्रणाली अपनाइयो र सोही अनुसार विकास गर्ने तौरतरिका कार्यान्वयनमा ल्याइए । अहिले हामी १६ औँ पञ्चवर्षीय आवधिक योजनामा आइपुगेका छौँ । यस अवधिमा धेरै साधनस्रोत खर्चिएको अवस्था पनि छ । यद्यपि ग्रामीण अर्थतन्त्रमा खासै सुधार आउन सकेको छैन ।
देशको ग्रामीण क्षेत्रले ठुलो भूभाग र जनसङ्ख्या समेटेको छ । यही क्षेत्रलाई विकासका आधार मानिएको भए पनि झनै खस्कँदै गएको भन्नुपर्ने अवस्था छ । दुर्गम ग्रामीण क्षेत्रमा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, रोजगारी जस्ता आधारभूत कुरा पुर्याउन सकिएको छैन । पुर्याइएका संरचना पनि सञ्चालनमा ल्याउन सकिएका छैनन् । मानिसलाई चाहिने यिनै कुरा हुन् । यिनको अभाव हुँदा मानिस जहाँ सुविधा उपलब्ध हुन्छ, त्यहीँ बसोबास गर्छ ।
ग्रामीण क्षेत्रको विकासमा धेरै समस्या देखिन्छन् । हिमाल कालापत्थरमा परिवर्तन हुने क्रम बढ्दै गएकाले राष्ट्रियस्तरमा नै चिन्ता गर्न थालिएको छ । यही क्रमले बढ्दै जाने हो भने पर्वतारोहणबाट आउने रोयल्टी पनि न्यून हुँदै जाने छ । जलवायु परिवर्तनमा सुधार नहुने हो भने नेपाल दोहोरो समस्यामा पर्ने छ । एक त हिमाली क्षेत्रको अवस्था दयनीय हुँदै जाने भएकाले त्यसबाट बसाइँसराइमा वृद्धि, रोजगारीमा कमी जस्ता कुरा आउने नै हुन्छन् भने नेपालले नगरेको अपराधको पनि सजाय भोग्नुपर्ने भएको छ । त्यसकारण हिमाली भूभागको विकास गरेर ग्रामीण अर्थतन्त्र मजबुत बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।
ग्रामीण विकासको अहिलेको मुख्य समस्या भनेको बसाइँसराइ नै देखिन्छ । ग्रामीण क्षेत्रमा विकास पुग्न सकेको छैन । आधारभूत आवश्यकताको खोजीमा ठुलो जनसङ्ख्याले आफ्नो थातथलो छोड्दै गएको छ । ऊर्जाशील जनशक्ति रोजगारीका लागि विदेश पलायन तीव्र रूपमा बढ्दै छ । प्रत्येक दिन करिब तीन हजारका दरले देश छोड्नेको सङ्ख्या तथ्याङ्कले देखाएको छ । देशका लागि जुन जनशक्ति आवश्यक छ त्यही जनशक्ति पलायन भएपछि ग्रामीण विकासमा असर पर्ने नै भयो ।
पलायन भएको जनशक्तिले पठाएको पैसाले घरपरिवार धानिएको छ । गाउँमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताकै अभावले उनीहरूको परिवार सुविधायुक्त सहर बजारमा बस्ने क्रम पनि बढिरहेको छ । विदेशबाट पठाएको ठुलो रकम सहरबजारमा खर्च हुँदै गएको छ । यसकारणले गर्दा विदेशबाट पठाएको पैसा पनि ग्रामीण क्षेत्रमा प्रवाह हुन सकेको देखिँदैन । गाउँमा गएको केही पैसा पनि घर कुरेर बस्ने बुढा बाआमाको जीविकाका लागि खर्च हुन गएको छ र उत्पादनशील कार्यमा प्रवाह गर्न सकिएको छैन ।
गाउँमा केही विकास पुगेको भए पनि स्थानीयको आवश्यकता र चाहना अनुरूप भएको छैन । भएका विकासको पनि लाभ लिन सकिएको छैन । यातायात पुगे पनि त्यो यातायातले पिँधका जनतालाई छुन सकेको छैन । शिक्षा, स्वास्थ्यको व्यवस्था भए पनि भवन, कर्मचारी, औषधी, चिकित्सक, उपकरण जस्ता आधारभूत आवश्यकताको अभाव नै देखिन्छ । लक्षित वर्गमा जबसम्म पूर्वाधारको सर्वसुलभ पहुँच पुग्न सक्दैन ग्रामीण विकासको कल्पनासम्म पनि गर्न सकिँदैन ।
ग्रामीण क्षेत्र यसै विकासमा पछि परेको थियो अहिले त झनै पछि पर्दै गइरहेको छ । मूलतः विदेशबाट आउने विप्रेषणको पैसा पनि गाउँघरमा लगानीको वातावरण नभएकाले सहर बजारतिरै बसाइँ सर्ने क्रम बढ्दो छ । सहरमा बस्ने, घरजग्गा किन्ने र छोराछोरीलाई पढाउने क्रम बढ्दै गएकाले ग्रामीण क्षेत्रले ठुलो समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । गाउँघरका खेतबारी बाँझो जग्गामा परिणत हुँदै छन् भने घर कुर्ने वृद्ध बाआमा पनि सहारा खोज्दै सहर पस्दै गरेका छन् । यसरी गाउँले धेरै दुःख पाएको अवस्था देखिन्छ ।
गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि तिनीहरूलाई प्रयोगमा ल्याउन सकिएको छैन । घरको छेउबाट नदी बगेको हुन्छ, त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन । कतिपय गाउँमा चिल्ला सडक पुगेका पनि छन् तर त्यहाँ गाडी चढ्न सक्ने मानिसको अभाव छ । खेतबारी भए पनि उत्पादन गर्ने जनशक्तिको अभाव देखिन्छ । भएका सानातिना घरेलु व्यवसाय पनि हराउँदै गएका छन् । मुख्य कुरो मानिस नै बसाइँ सरेर अन्यत्र गएपछि ग्रामीण क्षेत्रको विकास किन गर्ने भन्ने बहसको विषय पनि बनेको छ ।
जलवायु परिवर्तनको कारणले गर्दा पर्यावरणमा ठुलो असर पुगेको छ । बाढीपहिरो, भूस्खलन जस्ता प्राकृतिक प्रकोपले गर्दा मानिसहरू बसाइँ सर्न बाध्य हुनु परेको छ । प्रकृतिले ठगेको र त्यसमा पनि आधारभूत आवश्यकताको अभावका कारण ग्रामीण क्षेत्र विकासको दृष्टिकोणबाट झनै पछि पर्दै गएको अवस्था छ ।
नेपाल कृषिप्रधान देश भए पनि कृषि व्यवसायलाई उत्पादनमुखी बनाउन सकिएको छैन । अझै पनि हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौँ । ठुलो मात्रामा कृषिजन्य खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । ग्रामीण क्षेत्रको आधार भनेको नै कृषि हो । यही क्षेत्र उपेक्षित हुँदै गएकाले ग्रामीण अर्थतन्त्र खस्कँदै गएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ठुलो योगदान भई आएकोमा अहिले २७ प्रतिशत मात्र छ । त्यस्तै गरेर कृषि पेसामा लागेको जनसङ्ख्या पनि क्रमशः घट्दै आएको छ र अहिले करिब ६५ प्रतिशतको हाराहारीमा छ । यसले के देखाउँछ भने ग्रामीण क्षेत्रको मुख्य पेसा भनेको कृषि हो र यही क्षेत्र ह्रासोन्मुख हुँदै गएका कारणले राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्न गएको छ ।
नेपालको ग्रामीण क्षेत्र प्राकृतिक सम्पदाले सम्पन्न छ । यसबाट हामीले लाभ लिन सकिरहेका छैनौँ । पहाडी र हिमाली भागमा पर्यटन व्यवसायको अत्यधिक सम्भावना छ । अहिले गाउँघरमा सञ्चालन भएका सानातिना होटेल, रिसोर्ट, होमस्टेहरूले पनि ग्रामीण अर्थतन्त्रमा केही मात्रामा भए पनि योगदान पु¥याइरहेका छन् ।
ग्रामीण क्षेत्रको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्ने हो भने स्थानीय तहको आवश्यकता स्थानीय तहमा उपलब्ध हुन सक्ने साधनस्रोतबाट मानिसको आवश्यकता परिपूर्ति हुन सक्थे । अहिले त्यो अवस्था छँदै छैन । आफूलाई पुग्ने खाद्यान्न, तेलहन, कृषि सामग्री जस्ता वस्तुको उत्पादन तथा व्यवस्थापन स्थानीय तहबाटै हुन सक्थ्यो । अहिले यो विषय इतिहास जस्तै भएको छ ।
अहिले ग्रामीण क्षेत्रमा विकासका आधार निर्माण हुँदै गएका भए पनि योजनाबद्ध रूपमा नभएकाले सीमित साधनस्रोतको अपव्यय भएको छ । स्थानीय आवश्यकता र पहिचानबिना सञ्चालनमा आएका कार्यक्रमले जनताको आवश्यकता परिपूर्ति गर्न सक्दैनन् । ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार नपुगेका होइनन् तर आवश्यक मात्रामा पुगेका छैनन् । पुगेका पूर्वाधारबाट जुन लाभ लिन सक्नुपर्ने हो त्यो हुन सकेको छैन । यसको मुख्य कारण भनेको स्थानीय ग्रामीण जनताको आवश्यकताको पूर्व पहिचान गर्न नसक्नु हो । अव्यवस्थित योजना तथा कार्यक्रम लागु गरिँदा पूर्वनिर्धारित लक्ष्य प्राप्त गर्न नसक्नु स्वाभाविक नै हुन आउँछ ।
ग्रामीण विकासका लागि प्रयास भए पनि व्यवस्थित र दिगो रूपमा हुन नसकेको अहिलेको अवस्था हो । स्रोत साधनको उपयुक्त किसिमबाट विनियोजन गरेर कार्यान्वयन गर्न आवश्यक छ । अनुगमन तथा मूल्याङ्कनमा पनि ध्यान दिनु पर्छ ता कि भविष्यमा व्यवस्थापनमा उही र उस्तै समस्याको पुनरावृत्ति हुन नपाओस् ।
अहिले ग्रामीण अर्थतन्त्र खस्कँदै गएकाले देशको अर्थतन्त्र द्वैध किसिमको छ । ग्रामीण अर्थतन्त्र दयनीय बन्दै गएको छ भने सहरबजार हुनेखाने बन्दै गएको छ । त्यसकारण अहिले केही भएकाहरू सहरबजार, देशका ठुला ठुला सहर र देशको राजधानीतर्फ जाने व्रmम बढ्दै गएको छ । ग्रामीण क्षेत्र कमजोर हुँदै गएको र उद्योगधन्दा, कलकारखाना, रोजगारीका अवसर नभएकाले ग्रामीण क्षेत्र विकर्षण बन्दै गएको छ, अर्थात् ‘पुस फ्याक्टर’ ले असर गरेको छ । त्यस्तै गरी सहरी क्षेत्र भने आकर्षण बन्दै गएको छ अर्थात् ‘पुल फ्याक्टर’ ले प्रभाव पारेको देखिन्छ । यसरी ग्रामीण क्षेत्र विकासको दृष्टिकोणबाट कमजोर हुँदै गएको छ भने सहरी क्षेत्र भने अघि बढ्दै गएको छ । यसरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने विभिन्न क्षेत्र, वर्ग र समुदायको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याउनु पर्छ । सबै क्षेत्रको विकासमा पहुँच र लाभलाई ध्यानमा राखेर समन्यायिक अवस्था सिर्जना गरिनु आजको आवश्यकता हो ।