ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २१ गते । विद्यालयमा अध्ययन गर्ने अनाथ, गरिब तथा विपन्न बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग पुर्याउन रघुगङ्गा गाउँपालिकाभित्रका दशवटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका २ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले वडा नम्बर २ भगवती र ३ राखु पिप्ले क्षेत्रमा रहेका दशवटा सामुदायिक विद्यालयमा गरेर सातलाख रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट गरिब तथा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
माध्यमिक तहसम्मको पठनपाठन हुने ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्मको पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा १/१ लाख रकमको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरी हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरी आधारभूत विद्यालयमा ५०/५० हजार रुपियाँ राशीको अक्षयकोष स्थापना गरिएको छ ।
सहयोगदाता क्षेत्रीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा स्थित प्रभु बैँकमार्फत सम्बन्धित विद्यालयको मुद्दती खातामा जम्मा हुने गरी अक्षयकोषको रकम विद्यालयहरुलाई हस्तान्तरण गर्नुभएको छ । अक्षयकोषले गरिब तथा विपन्न बालबालिकाको क्षैक्षिक विकासमा टेवा पुग्ने उहाँले विश्वास गर्नुभयो ।
सो अवसरमा सहयोगदाता क्षेत्री र विद्यालयका प्रधानध्यापकहरु बिच अक्षयकोषको परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ, विपन्न र गरिब बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रबन्ध मिलाइएको सहयोगदाता क्षेत्रीले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत गरिब, विपन्न र अनाथ बालबालिकाहरुको शिक्षामा सहजता ल्याउन अक्षयकोष स्थापना गरेको उहाँको भनाइ छ ।