धनगढी समाचारदाता
धनगढी, माघ २१ गते । कञ्चनपुरस्थित नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागि फरेन्सिक परीक्षण रिपोर्ट कुरिरहेको छ ।
घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान अगाडि बढाएको प्रशासनले निष्कर्षमा पुग्नका लागि फरेन्सिक परीक्षणको रिपोर्ट कुरिरहेको हो । फरेन्सिक परीक्षण रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया रिपोर्टका आधारमा अगाडि बढ्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्जबाट आएको डाक्टरको प्राविधिक टोलीले कलौनीको फरेन्सिक परीक्षणको काम गरेको छ । त्यसको रिपोर्ट भने आउन बाँकी छ । यसै गरी पोस्टमार्टमपश्चात् प्रहरीले परिवारलाई शव जिम्मा लगाएको थियो । उहाँले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो ।
भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडक पेटीमा शनिबार बिहान कलौनी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको शव घोप्टो परेको अवस्थामा रहेको थियो । कांग्रेस नगर सभापति कलौनीको मृत्युपछि गृहजिल्ला भएका कारण गृहमन्त्री रमेश लेखक कञ्चनपुर आउनुभएको छ । उहाँले आइतबार मृतकको घरमा पुगेर शोकाकुल परिवारलाई सहानुभूति प्रदान गर्ने काम गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले कलौनीको पार्थिव शरीरमा झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । श्रद्धाञ्जली सभामा कांग्रेसका नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीपछि महाकाली नदीमा उहाँको अन्त्येष्टि गरिएको छ ।
नेपाली कांग्रेस कञ्चनपुरले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सो पार्टीले शोक विज्ञप्ति जारी गर्दै नेता कलौनीको निधनले नेपाली कांग्रेस परिवार अत्यन्त दुखित, मर्माहित र स्तब्ध भएको जनाएको छ । उहाँको निधनले नेपाली कांग्रेसले एक होनहार, प्रतिभावान् युवानेता गुमाएको विज्ञप्तिमा उल्लेख छ ।