गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २१ गते । सरकारले दिगो विकास लक्ष्य (दिविल) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ ।
मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै ‘दिविल ८’ हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम गत आवको पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या २१ प्रतिशतले वृद्धि भएको हो ।
श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिट पेस गर्ने प्रतिष्ठानलाई कडाइ गरेसँगै गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्षको सो अवधिमा यो सङ्ख्यामा वृद्धि भएको छ । गत आवमा श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्या एक हजार ६८१ रहेकोमा चालु आवको सोही अवधिमा दुई हजार ३२ पुगेको छ ।
विभागले डेढ वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड बर्सेनि बढाउँदै लगेर रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनको परिपालनामा प्रेरित गर्न र दिगो विकास लक्ष्य हासिल गर्न योजना बनाएको थियो ।
विभागका निर्देशक मणिनाथ गोपले श्रम ऐनमा उल्लेख भएका श्रमिक अधिकारका सबै विषय श्रम अडिटमा उल्लेख गर्नुपर्ने भएकाले कडाइसाथ निरीक्षण गरेको जानकारी दिनुभयो । श्रम ऐनमा उल्लेख भएका तर श्रमिकले सो अधिकारको प्रत्याभूत नगरेको देखिएकाले केही वर्षदेखि श्रम अडिटलाई प्राथमिकतामा राखेर काम भएको उहाँको भनाइ छ ।
पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या विगत पाँच वर्षमा सात गुणाले बढेको छ । आव २०७५/७६ मा श्रम अडिट गरिएका रोजगारदाता/प्रतिष्ठानको सङ्ख्या ४६९ रहेकोमा गत आवमा सो सङ्ख्या चार हजार २३९ पुगेको विभागले जनाएको छ ।
प्रतिष्ठानमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र रोजगारदाताबिचको श्रम सम्बन्धसमेत थप सुधार भएको विभागले जनाएको छ । श्रम ऐन र नियमावलीको प्रावधान अनुसार प्रतिष्ठानलाई श्रमिकप्रति दायित्वबोध गराउन ‘श्रम अडिट मापदण्ड २०७५’ जारी गरेपछि श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्या बढेको छ ।