हरिप्रसाद कोइराला
उर्लाबारी, माघ १६ गते । थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन व्यवसाय रोज्न थालेका छन् । भारतलगायत तेस्रो देशबाट आउने सस्तो मूल्यको महसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादक बजारको खोजीमा छन् ।
यतिबेला नेपाली किसानलाई मह काढ्न भ्याइनभ्याइ छ । उत्पादन सन्तोषजनक भए पनि बजारको अभाव रहेको किसानको गुनासो छ । मोरङको उर्लाबारी–४ का भोलाराज पोख्रेलले भन्नुभयो, “हाम्रो उत्पादन भारतलगायत देशबाट आउने महभन्दा महँगो पर्छ । उपभोक्तालाई सस्तो चाहिएको छ ।” पोख्रेलले अखाद्य महका कारण नेपाली किसान मारमा परेको बताउनुभयो ।
एक दशकअघिसम्म नेपालमा पूजा, तिथि श्राद्ध र सुत्केरीलाई खुवाउन मात्र महको प्रयोग हुन्थ्यो । अहिले प्रयोग बढेको छ । प्रयोग बढे पनि नेपाली उत्पादनले बजार पाउन सकेको छैन । पोख्रेलले प्रशस्त उत्पादन गरेर पनि व्यापारका लागि धेरै समय कुर्नु परिरहेको उल्लेख गर्नुभयो ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपानेका अनुसार चालु आव २०८१/८२ को छ महिनामा नेपालबाट दुई करोड ७३ लाख ७० हजार रुपियाँको चार हजार ४८६ किलो मह निर्यात भएको छ । यही अवधिमा भारतलगायत तेस्रो देशबाट पाँच करोड ७२ लाख ५३ हजार रुपियाँको दुई लाख चार हजार ७९४ किलो मह आयात भएको छ ।
केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार आयातित मह औसत प्रतिकिलो २७९ रुपियाँमा आउने गरेको छ भने नेपालबाट निर्यात हुने मह औसत छ हजार एक सय रुपियाँ किलो निर्यात भएको छ । नेपाली भिरमौरी, पुत्का, हिमाली मौरीको मह औषधीका रूपमा निर्यात हुने गरेको छ ।
यस्तै आव २०८०/८१ मा नेपालबाट पाँच करोड ७४ लाख ७५ हजार रुपियाँको १० हजार ८७९ किलो मह निर्यात भएको थियो । सोही वर्ष १७ करोड ६१ लख ७८ हजार रुपियाँको आठ लाख आठ हजार ४७१ किलो मह आयात भएको थियो ।
नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार हाल महासङ्घमा सूचीकृत किसानबाट चार हजार ९४५ मेट्रिक टन मह उत्पादन हुन्छ । पछिल्ला केही वर्षयता नेपाली बजारमा छ हजार मेट्रिक टन मह खपत हुँदै आएको छ ।
नेपालमा एक हजारदेखि पन्ध्र सय मेट्रिक टन मह अपुग हुन्छ । उपभोक्ताले महको गुणस्तर र उपयोगका विषयमा नबुझ्दा नेपाली उत्पादन खेर जाने र अखाद्य मह बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “महमा स्वाद र रङको एकरूपता कहिल्यै हुन्न । मौसम अनुसार हरेक महिना फरक फरक हुन्छ । स्थान र भूगोल विशेषमा एउटै स्रोतको मह फरक स्वादमा उत्पादन हुन्छ ।”
आमउपभोक्ता भने एउटै रङ र स्वादको मह रोज्ने गर्छन् । प्रकृति अनुसार अलग अलग स्वाद र रङमा पाइने उत्पादनलाई बहुराष्ट्रिय कम्पनीले सदावहार रूपमा एउटै रङ र स्वादको बनाएर पठाइदिँदा नेपाली उत्पादनले बजार नपाएको घिमिरे बताउनुहुन्छ ।
देशमा प्रशस्त उत्पादन भएपछि विदेशबाट ब्रान्ड लागेर आउने महको आयात बन्द गर्नुपर्ने किसान बताउँछन् । मेलिफेरा मौरीपालन उत्पादक सहकारी संस्था लिमिटेड उर्लाबारीका अध्यक्ष बोधराज खतिवडाले भन्नुभयो, “सरकारले मौरीलाई चरन क्षेत्रको व्यवस्थापन गर्न सके मोरङका किसानले मात्र हरेक वर्ष १२/१३ करोड रुपियाँको मह निर्यात गर्न सक्ने थिए । निर्यातको यही अवस्था रहे हाल उत्पादित महले नै बजार नपाउने देखिन्छ ।” उर्लाबारीमा मात्र एक सयभन्दा बढी किसान महको व्यावसायिक उत्पादन गरिरहेका छन् ।