काठमाडौँ, माघ १२ गते । देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ । सुदूरपश्चिम र कर्णालीका केही भेगमा बदली र वर्षाको प्रणालीले वातावरण धुमिल बनाएको छ । मध्य नेपालको पहाडी भेगमा दुई दिनयता तापक्रम ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोको मात्रा बढेकाले धुम्म आकाश रहेको छ । तिनै भेगमा फरक मौसम भए पनि प्रदूषणको मात्रा भने उस्तै तवरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।
विभागका अनुसार गत मङ्सिरदेखि यता नेपालमा वायु प्रदूषण बढ्न सुरु भएको हो । विगत केही हप्तायता काठमाडौँ उपत्यकाका साथै तराई भेगमा वायु प्रदूषण बढेको विभागले प्रस्ट पारेको छ । लुम्बिनी प्रदेशदेखि यता हिउँदे वर्षा राम्ररी भएको छैन । जसले सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो । वायु प्रदूषण बढ्नुमा मौसमी तथा मानवीय दुवै कारक तत्वको भूमिका रहेको छ । मानवीय कारणहरूमा उद्योग कलकारखाना र
सवारीसाधनबाट निष्काशन हुने धुवाँ, डढेलो, खुला रूपमा जलाइने फोहोर तथा कृषिजन्य अवशेषहरू, घरबाट निस्कने धुवाँ धुलो, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो रहेको झाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौसमी कारणसँगै अहिले बिहान बेलुका खुला रूपमा कृषिजन्य वस्तुहरू जलाउने कार्य बढेकाले वायु प्रदूषण उच्च हुँदै गएको छ ।” सहरमा सवारी साधनको धुवाँ र प्रदूषण जाँचका क्रममा धुवाँजन्य प्रदूषणको मात्रा उच्च देखिएको छ ।
देशका विभिन्न स्थानमा राखिएका वायु प्रदूषण अनुगमन स्टेसनले तराईदेखि काठमाडौँसम्मको वायुको गुणस्तर प्रदूषणयुक्त बन्दै गएको देखाएको छ । बुधबार काठमाडौँको रत्नपार्कको वायु प्रदूषण मापक स्टेसनले २६५ माथिको मापन देखाउँदै अत्यधिक प्रदूषणको मात्रा देखाएको थियो । बिहीबार पनि काठमाडौँ, कीर्तिपुर र ललितपुरका स्टेसनले १६४ सम्म हानिकारक वायुको सूचक पुगेर हानिकारक वायुको गुणस्तर देखाएको थियो । शुक्रबार भने तराईका जिल्लामा अझ प्रदूषण हानिकारक बनेको देखाएको छ । काठमाडौँमा भने बिहान बिहीबारको तुलनामा थोरै सुधार भए पनि साँझदेखि प्रदूषणको मात्रा आकासिएको थियो ।
विभागका वातावरण निरीक्षक लक्ष्मी श्रेष्ठका अनुसार मर्मत सम्भार नगरी चलाइएका डिजेल इन्जिनयुक्त सवारीसाधनले अत्यधिक धुवाँ काठमाडौँ उपत्यकामा फैलाइरहेको छ । २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने सरकारको नीतिविपरीत पनि गाडीहरू चलेको पाइएका छन् । श्रेष्ठले भन्नुभयो, “एउटा गाडीको कालो धुवाँ परीक्षण गर्दा त्यसले फ्याँकेको कालो धुवाँले जाँच्ने मेसिन नै बिगारिदियो । अब भन्नुस् त मान्छेको फोक्सो त्यस्तो धुवाँले के बनाउँछ ?” अघिल्लो बुधबार सडकमा सवारी परीक्षण गर्ने क्रममा गाडीको धुवाँले विभागको एउटा मेसिन बिग्रेपछि परीक्षण नै स्थगित भएको जानकारी उहाँले दिनुभयो । बनाउन लगिएको मेसिन धुवाँले जाम भएकाले सबै खोलेर बनाउनुपर्ने भएको श्रेष्ठले बताउनुभयो ।
गत मङ्सिर २० गतेदेखि माघ ७ गतेसम्म छड्के परीक्षण गरिएका ५१९ सवारीसाधनमध्ये १६६ वटामा मानव स्वास्थ्यलाई असर पार्ने धुवाँको घनत्व अत्यधिक रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।
त्यसरी परीक्षण गर्दा धुवाँको घनत्व (स्मोक डेन्सिटी) ६५ नम्बरलाई मापक मानिएको छ । उहाँले भन्नुभयो, “त्योभन्दा माथिको स्मोक डेन्सिटी भयो भने गाडी चलाउन मिल्दैन ।” ती सवारी साधनका चालकहरूलाई मर्मत गरेर फेरि परीक्षणका लागि आउन भनिएकामा ३० वटा गाडी मात्र आएका थिए ।
तीमध्ये पनि केही सवारीसाधनको धुवाँको घनत्व उच्च रहेको पाइएकाले फेरि बनाउन पठाइएको जानकारी उहाँले दिनुभयो । यसरी परीक्षण गर्दा पेट्रोलबाट चल्ने सवारीको कार्बन मोनोअक्साइड मात्र परीक्षण हुने गरेको छ । डिजेलबाट चल्ने सवारीले अत्यधिक कार्बनको मात्रा हावामा बढाएको दाबी विभागले गरेको छ ।
सवारी प्रयोगकर्ता तथा उद्योग कलकारखानाले आफैँ अनुगमन गरी प्रत्येक छ महिनामा सोको प्रतिवेदन विभागमा बुझाउनुपर्ने प्रावधान भए पनि कमैले मात्र बुझाउने गरेका छन् ।
गत वर्ष जम्मा ४७ वटा मात्र अनुगमन प्रतिवेदन विभागमा दर्ता भएको थियो । गत वर्ष छड्के परीक्षण गरिएका सवारी साधनमा ४४.१ प्रतिशत सवारीसाधन तत्काल चलाउन नमिल्ने पाइएको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझ केही समय वर्षा हुने लक्षण देखिएको छैन । उहाँका अनुसार हिउँद कायम रहेकाले बिहानबेलुका वायुमण्डलको तल्लो भेगमा तुसारोयुक्त हावासँगै प्रदूषणको मात्रा उस्तै रहने छ । तराईमा शीतलहर र तुवाँलो कायम रहेकाले प्रदूषण बढ्ने लक्षण देखिएको छ । उिहाँले भन्नुभयो, “उपत्यकाबाट वायु प्रदूषण हट्न कि त ठुलो हुरीबतास नै आउनु पर्छ, कि वर्षा हुनु पर्छ, नत्र घटबढको क्रम जेठ महिनासम्म कायम रहन्छ ।”