अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १७ गते । बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
बिरुवा –८ मेथाभुरुङको पुष्प मदन खेलमैदानमा भएको प्रतिस्पर्धामा भुरुङचौकी माविले १० स्वर्ण, नौ रजत र दुई काँस्य पदक जित्दै उपाधि हासिल गरेको हो ।
यस्तै, छ स्वर्ण, पाँच रजत र दुई काँस्यसहित जामुने डाँडा माध्यमिक विद्यालय दोस्रो भएको हो भने पाँच स्वर्ण, चार रजत र चार काँस्य जितेको बिरुवा मुनलाइट एकेडेमी तेस्रो बनेको हो ।
भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १० विद्यालयकाे सहभागिता थियो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले खेलकुदले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकासमा मद्दत गर्ने बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।