काठमाडौँ, मङ्सिर १७ गते । चोटका कारण सावित्रा भण्डारी (साम्बा)बिना खेलेको नेपालले इन्डोनेसियामा सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोस्रो हार खेपेको छ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङगशालामा मङ्गलबार राति भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग १–० गोलले पराजित भयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा गोल खाएको थियो ।
५३औँ मिनेटमा हुवाङ केसीनले गर्नुभएको गोल चाइनिज ताइपेइको जितमा निर्णायक बन्यो । नेपाल यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग २–१ गोलले पराजित भएको थियो ।
नेपालविरुद्धको जितसँगै चाइनिज ताइपेइले त्रिदेशीय सिरिज उपाधि जितेको छ । चाइनिज ताइपेइले पहिलो खेलमा इन्डोनेसियालाई ५–० ले हराएको थियो ।
चाइनिज ताइपेइसँगको खेलमा नेपालका लागि स्ट्राइकर पूर्णिमा राईले डेब्यु गर्नुभएको छ । उहाँ ८०औँ मिनेटमा रश्मिकुमारी घिसिङ स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
नेपाली महिला टोलीले आगामी साफ च्याम्पियनको तयारीका लागि यस सिरिज खेलेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि पनि महिला टोलीलाई विभिन्न देशसँग प्रतिस्पर्धा गराउँदै आएको छ ।