पुष्कर भण्डारी
डडेल्धुरा, मङ्सिर १७ गते । १३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा चार वटा नयाँ मतदान स्थल थप्न सिफारिस गरिएको हो ।
२०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका थिए । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले यस पटक एउटा पुरानो मतदान स्थल हटाइ चार नयाँ स्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार अजयमेरु गाउँपालिका-६ मा रहेको देवल मावि देवलदिव्यपुर मतदान स्थल हटाई भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा नयाँ मतदान स्थल राख्ने तयारी गरिएको छ ।
त्यस्तै, नवदुर्गा गाउँपालिका-५ मा रहेको भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम आवि राउनाकोटमा अर्काे एउटा नयाँ मतदान स्थल राख्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिनु भएको छ । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेकाहरू लाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
निर्वाचन अधिकृत अवस्थीका अनुसार नयाँ दर्ता मध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका थिए । ३८९ पुरुष र २३१ महिला गरी ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको उहाँले बताउनुभयो ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएको उहाँले जानकारी दिनुभयो ।
डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ गरी ९१ हजार ९१९ जना मतदाता रहेका रहुन भएको छ । स्थानीय तह अन्तर्गत सबैभन्दा बढी मतदाता सङ्ख्या भित्रिमधेशको परशुराम नगरपालिकामा भएको छ । पररशुराम नगरपालिकामा १० हजार ८२६ महिला र ११ हजार ९८ पुरुष गरी २१ हजार ९२४ मतदाता सङ्ख्या रहेको छ ।
यसैगरी जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मतदाता सङ्ख्या सात हजार ४७९ महिला र सात हजार ८६ पुरुष गरी १४ हजार ५५५ रहेको छ । आलितालमा गाउँपालिकामा पाँच हजार ३५९ महिला र पाँच हजार ५९१ पुरुष गरी १० हजार ९५० मतदाता सङ्ख्या रहेको छ । अजयमेरु गाउँपालिकामा पाँच हजार ७४९ महिला र ६ हजार ५८ पुरुष गरी ११ हजार ८०७ मतदाता रहेका छन् ।
यस्तै, गन्यापधुरा गाउँपालिकामा पाँच हजार ५०८ महिला र पाँच हजार ४६ पुरुष गरी १० हजार ५५४, नवदुर्गा गाउँपालिकामा सात हजार २६ महिला र ६ हजार ३०९ पुरुष गरी १३ हजार ३३५ मतदाता रहेका छन भने भागेश्वर गाउँपालिकामा ४ हजार ४६ महिला र ४ हजार ७४८ पुरुष गरी ८ हजार ७९४ मतदाता रहेको तथ्याङ्क छ ।
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै मतदान स्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको निर्वाचन अधिकृत अवस्थीले जानकारी दिनुभयो ।