• २८ मङ्सिर २०८२, आइतबार

नगरपालिकाभन्दा गाउँपालिकाको शैक्षिक गुणस्तर राम्रो

blog

बैतडी समाचारदाता 

बैतडी, माघ ११ गते । एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका तीन पालिकाका ४८ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सम्पन्न भएको छ । 

गुणस्तर परीक्षणको काम पूरा गरेर विज्ञ परीक्षकले दिएको प्रतिवेदन अनुसार सिगासका १५ वटा माविमध्ये १२ वटाले अधिकतम ७२ देखि ८५ प्रतिशत अङ्क प्राप्त गरेर मध्यमस्तर कायम गरेका छन् भने तीन वटा माविले ५७ देखि ६८.९२ प्रतिशत अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् ।   

४८ वटा विद्यालयको प्रतिवेदन अनुसार सुगम ठाउँमा रहेका दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाका ३३ वटा माविभन्दा तुलनात्मक रूपमा सिगासका माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो पाइएको छ । पाटन र दशरथ चन्दले शिक्षा क्षेत्रमा वार्षिक ३५ करोड रुपियाँ खर्च गर्दै आइरहेका छन् । सिगास गाउँपालिकाले शिक्षातर्फ वार्षिक १४ करोड ७७ लाख रुपियाँ खर्च गर्दै आएको छ ।  

प्रतिवेदन अनुसार दशरथ चन्दका १९ वटा माविले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम भएका छन् । दशरथ चन्दमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने दशरथ चन्द माविको ६७ प्रतिशत नतिजा देखिएको छ । त्यसै गरेर १४ वटा मावि रहेको पाटन नगरपालिकामा भने दशरथ चन्दको भन्दा केही राम्रो नतिजा देखिएको छ । १४ वटा माविमध्ये पाटनमा सात वटा माविले ७० देखि ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेर मध्यमस्तर कायम भएका छन् । पाटन नगरपालिकामा सबैभन्दा बढी ज्ञानेश्वर माविले ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेको छ । 

नगरपालिकाको तुलनामा सिगास गाउँपालिकाले आधा मात्रै लगानी गरेर शैक्षिक गुणस्तरमा अगाडि देखिएको छ । विज्ञ परीक्षक हर्कबहादुर ओली र टेकबहादुर ओलीले डेढ महिना समय लगाएर सिगासका १५ वटा माविको शैक्षिक गुणस्तर परीक्षण गर्नुभएको हो ।  हालसम्म परीक्षण पूरा भएका दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाका ४८ विद्यालयमध्ये सबैभन्दा बढी सिगास गाउँपालिका–२, गाँजरीस्थित अर्जुन माविले ८५ प्रतिशत अङ्क प्राप्त गरेर मध्यमस्तर निर्धारण गरिएको छ । प्रतिवेदन अनुसार अर्जुन मावि गाँजरी ८५ प्रतिशत, सिगास मावि रक्सौनको ७८ प्रतिशत, शिवलिङ मावि बगरधौलाडीको ७८ प्रतिशत, पञ्चोदय मावि इरानाको ७७ प्रतिशत, नरेन्द्रपुर माविको ७६, शिव मावि गडतोलाको ७४, भुवन भास्करमावि चमडेखर्कले ७४ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

त्यसै गरी सिगासकै उदय मावि गन्सुरको ५७.१५ प्रतिशत, लेकलुपण माविको ७७.५ प्रतिशत, बालकृष्ण मावि न्वाघरको ६६.२ प्रतिशत, गणेश मावि लेकम बस्तीको ६८.९२ प्रतिशत, भूमिराज मावि थलाको ७५ प्रतिशत, महादेव मावि काँडाको ७२.७४ प्रतिशत, भुवनेश्वरी मावि खैरकोटको ७५.०४ प्रतिशत र शारदा मावि ढुङ्गाडले ७२.५७ प्रतिशत अङ्क प्राप्त गरेका छन् । गुणस्तर परीक्षण गर्दा एसइई परीक्षाको उत्तीर्ण दर, लगानी र भौतिक अवस्थालाई मुख्य मापदण्ड बनाइएको छ ।