काठमाडौँ, माघ ८ गते । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।
समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हरायो ।
जितका लागि ४१ रनको सामान्य लक्ष्य पाएको बागमतीले ६.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
बागमतीका लागि याशु पाण्डेले १९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मधेशका लागि रोजी कडारीले दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेटको क्षतिमा ४० रन बनाएको थियो । मधेशका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार विकेट लिनुभयो । विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले एकएक विकेट लिनुभयो ।