प्रेमराज सिम्खडा
कालीकोट, चैत १४ गते । शुक्रबार परेको अविरल वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। निरन्तर वर्षासँगै आएको पहिरो र ढुङ्गा खस्दा सडक अवरुद्ध भएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
विशेषगरी साँघुरा र भिरालो सडक खण्डहरूमा पहिरो खस्दा दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएसँगै कम्तीमा तीन सयभन्दा बढी यात्रु अलपत्र परेका छन्। हुम्लाको चङखेलीलगायतका स्थानीय तहबाट भारतको काशी तीर्थस्थल जान लागेका ९५ जना ज्येष्ठ नागरिक पनि बिच बाटोमै अलपत्र परेका छन्। उनीहरूलाई स्थानीय तहले तीर्थस्थल लैजाँदै थियो।
सडक खुलाउनेतर्फ कसैले चासो नदिएको कारण यात्रुहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् भने खाद्यान्न र पिउने पानीको समेत अभाव देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी भीमबहादुर खत्रीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ। लगातारको वर्षा नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको र सबैतिरबाट प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
नजिकका सुरक्षाकर्मी र स्थानीयहरू घटनास्थलतर्फ गए पनि सडक खुलाउने पर्याप्त साधन नभएका कारण उनीहरू मुखदर्शक बन्नुपरेको स्थानीयको गुनासो छ।
यसैबीच, कर्णाली करिडोर आसपासका बस्तीहरू पनि जोखिममा परेका छन्। नदीमा पानीको सतह बढ्दै गएको छ भने खोला किनारका बासिन्दा जोखिममा छन्। उनीहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।