• १४ चैत २०८२, शनिबार

कृषिका प्राथमिकताका आधारमा काम गरिने

blog

नवनियुक्त कृषि तथा पशुुपन्छी विकासमन्त्री गीता चौधरी ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले प्राथमिकताका आधारमा दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । 

शुक्रबार पदभार ग्रहणका क्रममा कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस पटकको सरकार अरू सरकारभन्दा फरक भएकाले सोही अनुसार काम गर्ने बताउनुभयो । “हामीलाई जनताले पाँच वर्षको म्यान्डेट दिएका छन्,” उहाँले भन्नुभयो, “दीर्घकालीन योजना कसरी बनाउने र कसरी काम गर्ने भन्ने कुरामा छलफल गरेर अघि बढ्ने छौँ ।” 

कृषिक्षेत्रमा सबैभन्दा ठुलो समस्या रासायनिक मलको रहेको बताउँदै मन्त्री चौधरीले कृषिप्रधान देशमा किसानले मल नै पाउँदैनन् भने त्योभन्दा ठुलो विडम्बना केही नहुने बताउनुभयो । किसानले समयमा मल नपाउने समस्या बर्सौंदेखि रहेकाले यसलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । कृषिक्षेत्रमा जहाँ जहाँ समस्या छन् तिनको प्राथमिकीकण गरी समाधान गर्न लाग्ने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र निर्णयमा हस्ताक्षर गर्ने बताउनुभयो । “कार्यालयमा हामी निरन्तर गतिशील भएर काम गर्ने छौँ,” उहाँले भन्नुभयो, “सबै मिलेर यो देश बनाउनु पर्छ र देश बनाउने अभियानमा लागौँ भन्ने मेरो विशेष अनुरोध छ ।” 

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बजेट, रासायनिक मल, दुधको मूल्य र कृषि तथा पशुपन्छी बिमा भुक्तानी, अनुदान व्यवस्थापन, बाँझो भूमि, समन्वय समस्या, सिँचाइ, कृषि कर्जा, लगानीलगायतका विषयमा जानकारी गराउनुभएको थियो । कृषिप्रधान मुलुक नेपालमा कुुल गार्हस्थ उत्पादन (जिडिपी) मा २५ प्रतिशत योगदान कृषिक्षेत्रको छ । ५० प्रतिशत जनशक्ति कृषि पेसामा संलग्न रहेको छ । कुल बजेटको तीन प्रतिशत बजेट कृषिक्षेत्रमा विनियोजन हुँदै आएको छ ।