दोलखा समाचारदाता
दोलखा, माघ ६ गते । सगरमाथाको प्रवेशद्वार एवं नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने दोलखाको पर्यटकीय स्थल जिरीमा लामो समयदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । विमानस्थल बन्द भएको करिब ४० वर्षपछि पुनः सञ्चालनको माग उठेको हो । खस्कँदै गएको जिरीको व्यवसायलाई पुरानै लयमा फर्काउन विमानस्थल पुनः सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको दोलखा शेर्पा गेस्ट हाउसका सञ्चालक सोनाम शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै दिन विदेशी पर्यटकले खचाखच हुने जिरी अहिले आन्तरिक पर्यटक पनि नहुँदा सुनसान बनेको छ । विमानस्थल सञ्चालनमा नआउँदा व्यापार खस्किएर हातमुख जोड्न धौ धौ भएको छ । २०२० सालदेखि विमानस्थल सञ्चालनमा आएको थियो । २०४२ सालमा लामोसाँघु–जिरी सडक बनेर यातायात सञ्चालनमा आएपछि विमानस्थल बन्द हुन पुगेको हो । त्यतिबेला प्लेनको भाडा तीन सय रुपियाँ थियो । बस चल्न थालेपछि बसको भाडा ५० रुपियाँ भयो । यसले गर्दा पनि विमानस्थल बन्द हुन पुगेको स्थानीयको भनाइ छ ।
जिरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले भन्नुभयो, “नेताले हुन्छ भन्न नछाड्ने, बेला बेलामा दिएको वचन पूरा नगरिदिनाले विमानस्थल सञ्चालनमा आउन नसकेको हो । जिल्लाकै आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ पर्यटनमन्त्री हुँदा गुहार्नुगुहा¥यौँ तर माखो मरेन । उहाँहरूले इच्छाशक्ति नदेखाउँदा हाम्रो चाहना पूरा हुन सकेन । समस्या ज्युँका त्युँ रह्यो ।”
नगरले विमानस्थल सञ्चालनमा ल्याउन गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेको छैन । जिरी नगरपालिका प्रमुख मित्रबहादुर जिरेलले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आए यहाँको दिन परदिन खस्किँदै गएको व्यापार पुरानै लयमा आउने अपेक्षा राखिएको छ । विमानस्थल नेताकै बोलीमा सीमित हुन पुगेको छ । नेताले जिरीप्रति हेर्ने दृष्टिकोण फराकिलो बनाए विमानस्थल चाँडै सञ्चालनमा आउँछ ।”
स्थानीय सुमन जिरेलले भन्नुभयो, “विमानस्थल जिरीको आवश्यकता हो । ढिलोचाँडो सञ्चालनमा आउँछ नै । धावनमार्ग चार सय मिटरबाट बढाएर आठ सय मिटर हँुदै छ । यो सर्त पनि पूरा हुन्छ । हामी निरन्तर लागिरहेका छौँ । नापीको समयमा हाम्रो पनि ध्यान गएन । सरकारकै नाममा त हो नि भन्ने बुझ्यौँ । हवाई विभागको जग्गा कृषि मन्त्रालय अन्तर्गतको पशु फार्मको नाममा भएको रहेछ ।”