सिराज खान
नेपालगन्ज, माघ ३ गते । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्गअन्तर्गत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहान १०ः३० बजेदेखि सडक अवरुद्ध गरेको बताउनुभयो ।
सूचना अधिकारी बिकले भन्नुभयो, ‘‘उहाँहरुको मागका विषयमा वार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौं भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ ।’’
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मङ्गलबार बेलुका नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै बिहीबार सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएको जनाइएको छ । क्षतिपूर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव पनि बुझेका छैनन् ।