• २७ पुस २०८१, शनिबार

लुम्बिनीमा पुरक बजेट नल्याउने : मुख्यमन्त्री आचार्य

blog

नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, पुस २७ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएको छ । नेकपा (एमाले) धुर्कोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरबाट निगरानी बढाउनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले विकास र समृद्धिबाट विकट बस्तीलाई जोड्ने गरी प्राथमिकतामा राखेको बताउनुभयो ।

एमाले धुर्कोट गाउँ कमिटीले विभिन्न माग समेटिएको ज्ञापनपत्र उहाँलाई त्यस कार्यक्रममा हस्तान्तरण गरेको छ । ज्ञापनपत्र लिनुहुँदै मुख्यमन्त्री आचार्यले यहाँहरूले दिनुभएका योजनाहरु अर्काे वर्षको बजेटमा प्राथमिकताको आधारमा समावेश गरिने बताउनुभयो ।

बजेट कार्यान्वयनमा यहाँहरूले निगरानी गर्न भने जरुरी रहेको भन्दै उहाँले प्राथमिकताको आधारमा योजना तर्जुमा गरिने स्पष्ट पार्नुभयो । परेका बजेटको सदुपयोगमा बढी ध्यान दिनुका साथै राम्रोसँग कार्यान्वयन र गुणस्तर रूपमा योजना सम्पन्न गर्नका लागि जनस्तरको सक्रियता चाहिने बताउनुभयो ।