अमरराज नहर्की
तनहुँ, पुस २५ गते । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव सुरु भएको छ।
महोत्सवको बिहीबार नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । महोत्सवमा उद्घाटनको दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन भइरहेको छ ।
संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धनका लागि महोत्सव गरिएको आयोजकले जनाएको छ । उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायतले गर्दा जमिन बाँझो राख्ने क्रम बढेकाले किसान पेशाबाट पलायन हुनुपरेकोले उनीहरुको पेशा जोगाउन कृषिलाई पहिलो प्राथमिकतामा राखिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूसल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।
किसानको लागि निशुल्क स्टल र निशुल्क ढुवानीको लागि पालिकासँग समन्वय गरिएको उहाँले बताउनुभयाे । महोत्सवमा दुई सय वटा स्टलहरु छन् । स्थानीय कृषि उपज, हस्तकला, कपडा, भान्सामा प्रयोग गरिने सामग्री, खानाका परिकारसहितका स्टल रहेको स्टलका संयोजक तथा सह आयोजक तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति सुकनारायण मल्लले बताउनुभयो ।
दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार उपभोक्ता नठगिउन् भनेर खाद्य गुणस्तरका प्राविधिकहरुले जाँच गरेका खाद्य सामग्री बिक्रीको व्यवस्था गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले दर्शक धेरै हुँदा बिक्री बढी हुने भएकोले बिहान ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।