• ६ जेठ २०८१, आइतबार

विराटनगरमा ३८ प्रतिशत मत बदर

blog

विराटनगर, जेठ ९ गते । शनिबार मतगणना सम्पन्न विराटनगर महानगरपालिकाको नतिजामा विजयी मतको तुलनामा बदर मतको सङ्ख्या धेरै पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नबन्दा बदर मतको ग्राफ उकालो लागेको हो । 

घोषित परिणममा प्रमुख पदमा कुल ८९ हजार ३९४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर भएको छ भने २१ हजार ३५८ मत बदर भएको छ । यसरी हेर्दा प्रमुखमा करिब २४ प्रतिशत मत बदर भएको देखिन्छ । त्यसैगरी उपप्रमुख पदमा कुल सदर मत ५५ हजार २२९ रहेको छ । जसमा ३४ हजार १६७ मत बदर भएको छ । प्राप्त तथ्याकङ्कलाई आधार मान्दा उपप्रमुख पदमा ३८ प्रतिशत मत बदर भएको देखिन्छ । यहाँ २०७४ सालमा सबै पदमा गरेर कुल १९ हजार ४१९ मत (२४ प्रतिशत) बदर भएको थियो । 

निर्वाचन तयारीका लागि पर्याप्त समयको अभाव हुनु र गठबन्धन दलले एकपक्षीय रूपमा आफ्नो दल वा उम्मेदवारलाई मात्र मत माग्नु जस्ता कारणले बदर मतको सङ्ख्या बढेको अनुमान छ । यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले गरेको चुनावी एकतासमेत मत बदर गराउने कारण बन्न पुगेको छ । 

प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले मतदातालाई सचेत बनाउन नसक्नु नै बदर मतको सङ्ख्या बढाउने पहिलो कारण भएको बताउनुभयो । “दलहरूका आफ्ना घोणापत्र मात्रै मतदाताका घर घरमा पुगे तर मतदातालाई मत हाल्न सिकाउनेतर्फ ध्यान नै पुगेन,” उहाँले भन्नुभयो, “जुन पदमा उम्मेदवार नै छैन त्यो पदमा समेत मत मागेको पाइयो, जसका कारण प्यानलमा मतदान भयो ।” 

निर्वाचनका क्रममा उम्मेदवारले मतपत्र ठूलो भएको र तलमाथि गरेर मतदान गर्दा सीधै मतदान गर्न मतदातालाई सिकाएको समेत पाइएको छ । वडामा आफ्नो दलको उम्मेदवार नभएको बताए पनि मतदाताले लहरै मत दिएको समेत गणनाका क्रममा भेटिएको थियो । ठूलो मतपत्रमा दुईतिर र धेरै चिह्न भएकाले मतदातालाई उम्मेदवार छनोट गर्न सकस भएको थियो । 

विराटनगर वडा नम्बर ८ का मतदाता रुक्मणी पोखरेलले आफ्नो पार्टीको उम्मेदवार भएकाले लहरै त्यही चिह्नमा मतदान गरेको बताउँदै भन्नुभयो, “मतपत्र धमिलो र ठूलो थियो । तलमाथि हेर्दा आँखै तिरमिराउने भयो अनि लहरै मतदान गरेँ ।”

विराटनगर वडा नम्बर ६ मा सबैभन्दा धेरै मत बदर भएको छ । सो वडामा उपप्रमुखमा तीन हजार ८०७ र प्रमुखमा एक हजार ९६५ मत बदर भएको छ । सबैभन्दा कम सात नम्बर वडामा प्रमुखमा ३९८ र उपप्रमुखमा ९७८ मत बदर भएको पाइएको छ । 

त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका उपप्राध्यापक शान्तिराम भण्डारीले राजनीतिक दलले मत मात्र माग्ने प्रथा र निर्वाचन आयोगले मतदाता शिक्षा नचलाएका कारण अधिक सङ्ख्यामा मत बदर भएको बताउनुभयो । 

“आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न एउटै दिनु हुँदैनथ्यो,” उहाँले भन्नुभयो, “अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारको चिह्न मात्र एउटै थियो तर यस पटक स्वतन्त्र उम्मेदवारको प्रमुख पददेखि वडाध्यक्षसम्मको एउटै चिह्न भयो ।” राजनीतिक दलले गठबन्धन गर्ने तर मतदातालाई शिक्षा नदिने कारणले सामान्यदेखि पढेलेखेका मतदाताको समेत मत बदर भएको उहाँको भनाइ छ । 

विराटनगर महानगरपालिकामा कुल मतदाता सङ्ख्या एक लाख ३३ हजार १४२ मध्ये ६७.३५ प्रतिशत अर्थात् ८९ हजार ३७८ मत खसेको थियो । २०७४ सालमा सम्पन्न निर्वाचनमा महानगरमा ८० हजार ६ सय ८९ मत खसेको थियो । 


Author

धीरज दाहाल