कास्की, पुस १० गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।
इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
‘‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’’ प्रदेश प्रमुख भट्टद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबिच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।