गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा झन्डै छ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म पाँच अर्ब ७६ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा तीन अर्ब ६५ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो ।
जस अनुसार गत वर्षको तुलनामा चालु आवको चार महिनामा दुई अर्ब ११ करोड रुपियाँले बढी लगानी भित्रिएको छ । यस्तै चालु आवको चार महिनामा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब ४७ करोड रुपियाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ५९ करोड रुपियाँ रहेको थियो । उद्योग विभागका अनुसार चौमासिक (साउन–कात्तिक) मा १७ अर्ब तीन करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
चार महिनामा १५४ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार यस अवधिमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । विभागका अनुसार कात्तिकसम्म १५१ साना उद्योग, मझौला एक र दुई ठुला उद्योग दर्ता भएका छन् । चार महिनामा दर्ता उद्योगमध्ये पर्यटनमा मात्र ११३, सेवामा २०, उत्पादन १३, सूचना–प्रविधि सात, खानी दुई र कृषिमा दुई उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ४२१ परियोजनामार्फत नौ खर्ब ७४ अर्ब ३५ करोड ८७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि प्रतिबद्धताको ३० देखि ३५ प्रतिशतसम्म लगानी भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।