• ७ पुस २०८१, आइतबार

पानी हरायो (कथा)

blog

“साथी, खोलाको पानी सुकिहाल्यो । अब पानी खान नपाएर मरिने भइयो । केही उपाय छ भने भन,” स्याल कुद्दै मृग नजिक आएर भन्यो ।

“मैले तीन दिनदेखि पानी खान पाएको छैन । आँत सुकेर बोल्न नसक्ने भएको छु साथी । सधैँ पानी खाने गरेको पल्लो खोलामा पानी नभेटेपछि म यो खोलामा आएको हुँ । यो खोला पनि सुकेछ । यसरी खोला सुके भने पानी खान नपाएर जङ्गलका जीवजन्तु सबै मर्ने छन् ।” मृग सकीनसकी बोल्यो ।

तिर्खाले प्याक प्याक पर्दै सेतो बाँदरको बथान पानी खोज्न आइपुग्यो । बाँदरको नाइकेले भन्यो, “ओ साथी हो ! पल्लो खोलाको पानी सुकेछ । यो खोलामा पनि पानी छैन । के भयो हँ ?”

स्यालले भन्यो, “हामी खोलामा पानी सुकेको कुरा गरिरहेका थियौँ । तिमीहरू आइपुगे छौ । ल, अब पानी खोज्न खोलाको शिरतिर जाऔँ ।” हरिण, बँदेल, स्याल, मृग, बाँदरलगायत जनावर पानी खोज्न खोलाको शिरतिर हिँडे । खोलाको छेउछाउ चैत/वैशाखको खडेरीमा पनि रुखबुटा हरिया देखिन्थे । अहिले खोलाको किनारमै सुक्खा लागेको थियो ।

पानी खोज्न हिँडेका जनावर तिर्खाले हिँड्नै नसक्ने भएका थिए । तिनका बच्चा बोल्न पनि नसक्ने भएका थिए । बाटोमा भ्यागुता, गँड्यौला, गँगटा मरेका देखिन्थे । सास बाँकी भएकाहरू बल्ल बल्ल घसिँरदै थिए ।

पानी खोज्न हिँडेका जनावर पनि हिँड्दा हिँड्दै मरिरहेका थिए । आकाशबाट चरा खसिरहेका थिए । त्यहाँ पहिलेको जस्तो कोइलीको कुहूकुहू थिएन । चराहरूको चिरबिर थिएन । तिनीहरू फर्‍याक फर्‍याक परेर मर्दै थिए । त्यो देख्दा उनीहरूलाई आफ्नो पनि काल नजिकिएको जस्तो लाग्यो ।

स्यालले भन्यो, “अब चैँ बाँचिन्न होला । खै, पानी कतै देखिएन ।” मृगले आँसु खसाल्दै भन्यो, “म त अब हिँड्न सक्दिनँ । म मरेँ भने मेरा बच्चालाई पानी खोजेर खान दिनू । नत्र उनीहरू पनि मर्ने छन् ।” 

सधैँ कल कल बग्ने खोलाको कञ्चन पानी हराएको थियो । पानी हराउँदा खोलाको हरियाली हराएको थियो । निकै माथि पुगेपछि तिनीहरूले पानी बगेको कुलुलुलु आवाज सुने तर पानी देखिएन । बाँदरले भन्यो, “साथी हो ! मैले पानी बगेको सुनेँ । तिमीहरूले सुन्यौ ?”

स्यालले भन्यो, “मैले पनि पानी बगेको सुनेँ । ए, अरूले पनि पानी बगेको सुन्यौ ?”

मृगले पनि पानीको आवाज सुनेको रहेछ । हरिण, बँदेल र बाँदरले पनि सुनेका रहेछन् । स्यालले भन्यो, “एकछिन कोही पनि नबोली पानीको आवाज सुनौँ ।” स्यालले भुइँमै कान थापेर सुन्यो । भित्र भित्र पानी कुलुलुलु गरी बगिरहेको थियो । मृगले पनि त्यसै गरी कान थापेर सुन्यो । उसले भन्यो, “पानी बगेको सुनिन्छ तर देखिँदैन । हैन, पानी कता हरायो ?”

सबै जनावर ढुङ्गामा बसे । बँदेलले भन्यो, “पानी बजेको छ तर देखिँदैन । हैन, यो के भएको हो ?”

स्याल धुइँधुइँती खोलामा पानी खोज्न थाल्यो । उसले ढुङ्गाको सानो चेपबाट पानी देख्यो । खुसी हुँदै भन्यो, “लु हेर, मैले पानी देखेँ ।”

सबैले त्यो चेपबाट पानी हेरे । पानी देख्दा उनीहरूको आँत रसाएर आयो तर पानी खान सकिने अवस्था थिएन । उनीहरू पानी किन तल गयो भनेर सोच्न थाले । बाँदरले पाखातिर गएर हे¥यो । त्यो ठाउँमा मानिसले खेतमा पानी लैजान कुलो खनेका थिए । अहिले त्यो कुलो त्यहाँ थिएन । बाँदरले पानी हराउनुका कारण पत्तो लगायो । 

बाँदरले भन्यो, “साथी हो ! पानी हराउनुका कारण मैले थाह पाएँ ।”

स्यालले सोध्यो, “कसरी हराएको रहेछ बाँदर भाइ ?”

बाँदरले भन्यो, “मानिसले खोलामा सिमेन्टको ट्याङ्की बनाई खेतमा पानी लैजान पाइप हालेछन् । त्यै कारणले खोलामा पानी सुकेको रहेछ । पाइपबाट लगेको हुनाले कुलोमुनि पानी रसाउन छाडेको रहेछ । पानी रसाउन छाडेपछि बोटबिरुवा मरेका रहेछन् ।”

सबै जनावरले मुहान हेरे । बाँदरले भनेको कुरा हो रहेछ । उनीहरूले पानी खाने अनेक उपाय गरे तर सकेनन् । मृगले खुइइअ गर्दै भन्यो, “मान्छेको स्वार्थका कारण हाम्रो ज्यान जाने भयो साथी हो !”

“लौ अब पानी खोज्न अर्को खोलामा जाऔँ ।” स्यालले भन्यो । सबै जनावर पानी खोज्न अर्को खोलातिर लागे । 

    मुना