• १९ मंसिर २०८१, बुधबार

प्लास्टिकको खोला (एकांकी)

blog

मञ्च अन्धकार छ । पर्दा बन्द । नेपथ्यबाट मोटरगाडीको बाक्लो आवाज सुनिन्छ । मानिसको कोलाहल पनि सुनिन थाल्छ । नयाँ बसपार्क...नयाँ बसपार्क...सबै जना झर्नेहोला...आआफ्ना सरसामानको ध्यान पनि राख्नुहोला...

दौरा, सुरुवाल र ढाका टोपी लगाएका बाबुछोरा मञ्चमा देखिन्छन् । उनीहरूले झोला पनि भिरेका 

छन् । बाबुले छोराको हात समातेका छन् । छोराचाहिँ बाबुको हात छाडेर निकै उत्सुकताका साथ बागमतीको पुलतर्फ अगाडि बढ्छन् । 

बाबु : (डराउँदै तथा हड्बडाउँदै) ए...कहाँ हो ? कहाँ गएको ? हात नछोड्नु भनेर सिकाएको होइन ? हाम्रो गाउँघर जस्तो जता मन लाग्यो, त्यतै हिँड्नुहुन्छ ? यहाँ हेर गाडीहरू हाम्रो उताको गाईवस्तुका बथान जस्ता ।

छोरा : (बाबुको कुरामा ध्यान नदिँदै) बुवा ! यहाँ आउनुस् न, छिटो क्या...(बाबुको हात समातेर जोडले तान्दै) खोलातिर देखाउँदै ऊ....हेर्नाेस् न बुवा । (उत्सुकताका साथ) के हो यो ?

बाबु  : (आश्चर्य मान्दै) ए आम्मै ! यो खोला होइन र ? (सुस्केरा हाल्दै) विचरा ! खोलाको यो गति ? कसरी होला ? (आकाशतर्फ हेर्दै) भर्खरै पानी रोकिएको थियो, फेरि पर्ने जस्तो छ । 

छोरा : (बाबुको हात छोडाउँदै) बुवा के भन्नुभएको ? मैले केही बुझिनँ । यो खोला हो बुवा ?

बाबु : हो छोरो, यो बागमती नदी हो ।

छोरा : बुवा, नदी भएर पनि यो त हाम्रो गाउँको खोला जस्तो पो छ त ।

बुवा : हो, छोरो हो । 

छोरा : बुवा हाम्रो खोलाको पानी कति सङ्लो हुन्छ है ? हामी त्यहाँ गर्मीमा पौडी 

खेल्छौँ । भैँसीलाई आहाल बसाउँछौँ तर यहाँ त यस्तो फोहोर पो छ त ।

बुवा : हो छोरो, यो सहरको नदी, हाम्रो उताको गाउँको खोला । फरक नै हुने ।

छोरो : खोला त एउटै हुनुपर्ने होइन बुवा ? यहाँ त म खोला देख्दिनँ त बुवा ! 

(खोलातिर देखाउँदै) बुवा ! मलाई त यहाँ बसेर खोलालाई हेर्दा कुनै प्लास्टिक बनाउने प्याक्ट्रीमा हेर्दै छु जस्तो लाग्यो । 

बुवा : हो छोरो, त्यस्तै छ । प्लास्टिक नै प्लास्टिकको खोला तर छोरो झन्डै ४० वर्षअघि म यहाँ आउँदा बागमती नदी त हाम्रो गाउँको खोला जस्तै सफा थियो । दायाँबायाँ रुखहरू थिए । खोलाको फैलावट पनि थियो । अतिक्रमण पनि थिएन । कति शीतल हावा लाग्थ्यो ? तर आज यस्तो देख्दा मन नै अमिलो भयो ।

छोरा : हो र बुवा । यो कसरी भो होला त हगी ?

बुवाः यो सहरले सडक, घर आदिमा त विकास ग¥यो तर प्रकृतिलाई माया गर्नु पर्छ भन्ने यहाँका मान्छेले बिर्से छन् । 

छोरो : (केही सम्झे झैँ गरेर) बुवा ! अस्तिन रेडियोबाट बागमती सरसफाइ अभियानमा खोला सरसफाइ गरेको भनेको यहीँको होला होइन बुवा ? 

बाबु : होला छोरो होला । 

छोरो : तर पनि किन यस्तो भएको होला ?

बुवा : सफा गरुन्जेल सफा त भयो खोला तर सधैँ सफा हुन त मानिस भित्री मनदेखि नै सभ्य बन्नु पर्छ । हाम्रोमा जस्तो कपडाको झोला र धोक्रो प्रयोग गर्नु पर्छ । खोलाको छेउछाउमा रुखबिरुवा रोप्नु पर्छ । (खुला रुपमा खोलामा मिसाइएको ढलतिर सङ्केत गर्दै) उ...उता हेर त, त्यहाँ घर घरका शौचालयका फोहोर सोझै खोलामा मिसाइएको छ । पहिले पहिले यहाँ पनि घर घरमा शौचालयबाट निस्कने फोहोरका लागि सेफ्टी ट्याङ्की बनाउँथे अनि त्यहाँ जम्मा भएका फोहोरलाई मलका रूपमा प्रयोग गरेर खेती गरिन्थ्यो । (फाँटतिर देखाउँदै) यो फाँटभरि अहिले घरैघरै छन् । कुनै बेला यहाँ हरिया सागसब्जी मात्र देख्न पाइन्थ्यो । (सुस्केरा हाल्दै) अहिले त यो एकादेशको कथा जस्तै भइसक्यो ।

ए छोरो हेर त त्यो मान्छेको हातमा प्लास्टिकको झोलामा फोहोर छ त । (छोराले त्यतैतिर हेर्छ, त्यो मान्छे पुलको छेउमा पुग्छ र दायाँबायाँ हेरेर फोहोर खोलामा फ्याँक्छ र कतै नहेरी सरासर आफ्नो बाटो लाग्छ ।) देख्यौ त छोरो यो प्लास्टिकको खोलाको कहानी ? ल जाऔँ छोरो, हामी त कहिलेकाहीँ यहाँ कामविशेषले आउने हो, हामीले मात्र चिन्ता लिएर हुँदैन । काठमाडौँ उपत्यकाका बासिन्दाले सोच्नुपर्ने कुरा हो ।

छोरो : (जाँदाजाँदै बुवातिर हेरेर दृढताका साथ) बुवा, मैले आज मनमा एउटा अठोट गरेको छु कि म कहिले पनि मेरो गाउँको खोलालाई प्लास्टिकको खोला बन्न दिने छैन । अहिले यहाँ जे देखेँ नि यी सबै कुराका बारेमा गाउँका सबैलाई भन्ने छु । रुख रोप्ने छु । प्रकृतिलाई माया गर्ने छु । विकासको 

नाममा खोलालाई म कदापि प्लास्टिकको खोला बन्न दिने छैन । 

बुवा : (छोरालाई धाप मार्दै) स्याबास् ! तिमीलाई काठमाडौँ लिएर आएको पनि राम्रै भएछ । जे भए पनि राम्रो कुरा सिक्न त पायौ । उनीहरू सहरको भिडमा कतै हराउँछन् । पुनः मञ्चमा अन्धकार । पर्दा बन्द हुन्छ तर मोटरगाडी, मानिस आदिको कोलाहलपूर्ण आवाज फेरि सुनिन थाल्छ ।   

  मुना  

Author

डा. कान्छी महर्जन