• १७ असार २०८२, मङ्गलबार

तटबन्धमा राखियो माटोले भरिएका बोरा

blog

स्पर र तटबन्ध सुरक्षाका लागि बालुवा भरिएका बोराहरु तयारी अवस्थामा । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  
वराहक्षेत्र, असार १७ गते ।
सप्तकोशी नदीको काटानबाट तत्काल रोकथाम गर्न नदीको स्परहरुमा बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ । सप्तकोशी नदीको पूर्वी तटबन्ध  कुशाहा, मधुवनदेखि चतरासम्मका स्परहरुको सुरक्षाका लागि भरिएका माटो र बालुवाका बोराहरु राखिएको छ ।

वर्षामा नदीमा आउने बाढीले तटबन्ध कटान गर्ने हुँदा तत्काल कटान रोक्न स्परहरुमा हजारौंको सङ्ख्यामा माटो, बालुवाले भरिएका बोरा, जालीलगायतका सामग्री तयारी अवस्थामा राखिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी तटबन्ध क्षेत्रमा पानीको वेगले स्परहरुमा बढी कटान गर्ने हुँदा कटान रोक्न माटो र बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको हो ।

कोशी प्रोजेक्टअन्तर्गत भारतको जलसंसाधन विभागले सप्तकोशी नदीले वर्षामा कटान गर्न सक्ने सम्भावनालाई लक्षित गरेर तटबन्धमा बोरा र बालुवा भण्डारण गरेर राखेको राजाबास सबडिभिजन कार्यालयले जनाएको छ । पानीको चाप पर्ने स्परहरुमा कटान रोक्न पूर्वतयारी गरिएको हो ।

पश्चिम कुशाहादेखि कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमा धरहरा टपन हुँदै राजावास, सालबन्दी, शुक्रबारे, ठाकुबारी र चतरासम्म रहेका स्परहरुमा माटो भरिएका बोरा तयारी अवस्थामा राखिएको जनाइएको छ । नदीले तत्काल कटान गरे बोरालाई नाइलनको जालीमा भरेर कटान भएको ठाउँमा हालिने तटबन्ध मर्मत सम्भारको काम गर्दै आउनुभएका स्थानीय मोहन मण्डलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोरा जालीसँगै अवस्था हेरेर ढुङ्गा जाली पनि लगाउने गरिएको छ ।’’ स्परहरुमा बढी कटान हुने हुँदा प्रत्येक वर्षा बोरा, ढुङ्गा, माटो, बालुवा र प्रकोपाइनहरु तयारी अवस्थामा राखिने गरिएको कोशी योजना सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरले जनाएको छ ।

नदीको सम्भावित क्षति रोक्न प्रत्येक वर्षा अगावै नदीको पूर्वी तटबन्ध र स्परको सुरक्षाका लागि प्राविधिक र आवश्यक सामग्रीसहित उच्चस्तरका कर्मचारी तटबन्ध क्षेत्रमै भारतीय जलसंसाधन विभागले खटाउने गरेको छ ।

पूर्वी तटवन्धका स्परहरु २५ः५७, २५ः२५, २६ः००, २६ः४०, २६ः८८ लगायका स्परहरुमा पानीको चाप पर्ने गरेको बताइन्छ । राजाबास क्षेत्रको स्परहरु २४ः१० देखि २७ः८८ सम्मका सात वटा स्परमा पानीको चाप बढी पर्ने हुँदा वर्षामा यी स्परहरुमा बढी निगरानी बढाइने गरिएको छ ।  

जलसंसाधन विभागले वर्षामा पूर्वी तटबन्धको कोशी बराजदेखि चतरासम्म रहेका सबै स्परहरुमा र तटबन्धमा दिनरात नै निगरानी गरिने गरिएको भारतीय प्राविधिकहरुले बताएका छन् ।  

जलसंसाधन विभागले प्रत्येक वर्ष स्परहरुमा हुने कटान नियन्त्रणका लागि कोशी प्रोजेक्टअन्तर्गत कुशाहा सबडिभिजन, मधुवन सबडिभिजन, राजावास सब डिभिजन, चक्रघट्टी सबडिभिजन, चतरा सबडिभिजनले वर्षामा कोशीको दैनिक वस्तुस्थिति अध्ययन गर्दै निगरानीका साथ तटबन्ध र स्परहरुको मर्मतको कार्य गर्ने गरेको छ ।