• २१ पुस २०८१, आइतबार

जनकपुरबाहेक अन्य टिममा मार्की खेलाडी कप्तान

blog

काठमाडौँ, मङ्सिर १५ गते । घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै एनपिएलमा सहभागी आठ टिमका कप्तानको घोषणा गरेको छ । आठ टोलीका कप्तानले आफूहरू उत्कृष्ट खेल दिन आतुर रहेको जनाउँदै जित नै आफ्नो लक्ष्य रहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त हुनुभएको घोषणा गरिएको थियो । अन्य टिमले मार्की खेलाडीलाई नै कप्तान बनाएका छन् । जस अनुसार विराटनगर किङ्ग्सको कप्तानमा सन्दीप लामिछाने, चितवन राइनोजको कुशल मल्ल, काठमाडौँ गुर्खाजको करण केसी, पोखरा एभेन्जर्सको कुशल भुर्तेल, लुम्बिनी लायन्सको रोहित पौडेल,‌ कर्णाली याक्सको सोमपाल कामी र सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । 

राष्ट्रिय टोलीका कप्तानसमेत रहनुभएका रोहितले भन्नुभयो, “यो प्रतियोगितामार्फत नेपालको क्रिकेट अन्तर्राष्ट्रिय जगत्मा थप चिनिने छ ।” विराटनगरका कप्तान सन्दीपले सबै जना उत्साहित रहेको र टिम सन्तुलित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो सपना आज एनपिएलले पूरा गरेको छ । आगामी ३–४ वर्षमा एनपिएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ । एनपिल गर्ने कुरामा धेरै चुनौती रहे पनि क्यानले यो सम्भव गरेको छ, यसलाई  निरन्तरता दिनु पर्छ ।”

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिहं ऐरीलाई  सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित एनपिएलमा खेल्ने बताउनुभयो । जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले काठमाडौँमा‌ आएर मात्र तयारी गरेको हुनाले प्रशिक्षण अलि कम भएको बताउनुभयो । विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणले आफ्नो टिम सन्तुलित भएको उहाँले बताउनुभयो । नयाँ युवा खेलाडी र पुरानोका लागि पनि एनपिएलले राम्रो प्लेटफर्म दिएको उहाँको भनाइ छ । 

काठमाडौँ गुर्खाजका कप्तान करण केसीले एक महिनादेखि खेलाडीहरू प्रशिक्षणमा रहेको जानकारी दिनु दिँदै युवा र विदेशी खेलाडीको तालमेलले टिम राम्रो बनेको बताउनुभयो । कर्णाली याक्सका कप्तान सोमपाल कामी आफ्नो टोलीमा युवा खेलाडी रहेकाले उत्साहित रहेको जानकारी दिनुभयो । “सबैको लक्ष्य जित्ने नै हुन्छ तर सिक्ने मौका पनि पाइन्छ । विदेशबाट आउनुभएका खेलाडीसँग धेरै कुरा सिक्ने अवसर पनि हो,” उहाँले भन्नुभयो । एनपिएलले धेरै युवालाई मौका दिएकाले नेपालका लागि राम्रो खेलाडी निस्कने कुरामा आफू विश्वस्त भएको उहाँले बताउनुभयो । 

एनपिएलको अर्को टोली पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले भारतीय प्रशिक्षकको प्रशिक्षणमा पोखरामा टिमको तयारी राम्रो भएको र सबै जना उत्साहित रहेको जानकारी दिनुभयो । 

चितवन राइनोजका कप्तान कुशल मल्लले एनपिएलमार्फत विश्वभरले नेपाली क्रिकेटलाई हेर्ने भएकाले उत्साहित भएको बताउनुभयो । स्टार स्पोर्ट्सबाट प्रसारण हुनाले घरेलु मैदानमा हुने खेललाई विश्वले हेर्ने छ उहाँले भन्नुभयो । एनपिएलको उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबिच शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा त्रिवि रङ्गशालामा हुँदै छ ।