• १४ मंसिर २०८१, शुक्रबार

शिक्षा र न्यायका मानक

blog

विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक सङ्घर्षमा होमिनुभएका वरिष्ठ मानव अधिकारवादी, शान्ति प्रक्रियाका मेरुदण्ड तथा भद्र व्यक्तित्व दमननाथ ढुङ्गानाको निधनले सिङ्गो राष्ट्र दुखित छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका पहिलो सभामुख ढुङ्गानाले नेपाल राष्ट्रका लागि पु¥याउनुभएको योगदान अविस्मरणीय छ । विसं २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सभामुखका रूपमा उहाँले निर्वाह गरेको भूमिका उदाहरणीय मानिन्छ । उहाँ २३ वर्षको अन्तरालपछि २०७४ सालमा सक्रिय राजनीतिमा फर्किनुभएको थियो । 

दमन दाइसँग मेरा निकटता सानै उमेरदेखि भए तापनि बढी आपसी निकटता २०४८ साल माघदेखि उहाँको जीवनपर्यन्त नै रहिरह्यो । दमन दाइ काठमाडौँको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो । पहिलो प्रतिनिधि सभाको सभामुख पनि निर्वाचित भई नेपाल राष्ट्रको गरिमा उठाउने कार्यमा ठुलो योगदान पु¥याउनुभयो । उहाँ पद्मोदय माविको अध्यक्ष हुँदा पङ्क्तिकार प्रधानअध्यापक थियो । उहाँ अध्यक्ष रहुन्जेल विद्यालयको प्रगति र उन्नतिमा ठुलो बल पुग्यो । उहाँ अध्यक्ष भएपछिको प्रथम बैठकमै विद्यालयको शैक्षिक भौतिक र आर्थिक आय व्ययसमेतको यथार्थ जानकारी गरी विद्यालयको सर्वाङ्गीण विकासमा के कसरी सहयोग गर्न सकिन्छ त्यसतर्फ ठुलो चासो राख्नुभयो । लगत्तै शिक्षक अभिभावक र विद्यालयका शुभचिन्तकसमेतको उपस्थितिमा छलफल र सरसल्लाह गरी पद्मोदयलाई आफ्नो पूर्ववत् इज्जत र प्रतिष्ठामा पु¥याउने दायित्वतर्फ सबै ध्यान केन्द्रित गराउनुभयो ।

दमन दाइको व्यवस्थापकीय नेतृत्वबाट विद्यालयको उन्नति हुने व्यापक चर्चा हुन थाल्यो । तत्काल विद्यालयमा दुई सय पनि विद्यार्थी थिएन । क्रमशः तत्काल नै पाँच सय पुग्यो । २०४८ सालको एसएलसीमा ३५ प्रतिशत उत्तीर्ण भए भने २०४९ सालमा ६५ प्रतिशत उत्तीर्ण भए । २०५० सालमा ८५ प्रतिशत र त्यो क्रम बढ्दै ९० प्रतिशत पुग्यो भने विद्यालयको स्वर्णिम जन्मजयन्तीमा शतप्रतिशत नतिजा आयो । विद्यालयको सर्वत्र गुणगान सुरु भयो । दमन दाइ अध्यक्ष हुनु भयो भने सदस्यहरू अर्जुन नरसिंह केसी, प्रा. सरस्वती रिमाल, अन्जु तण्डुकार, विष्णुराज कुशुम, श्रीभक्त श्रेष्ठ, विजयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो । सबैको सहयोग लिई विद्यालयको हरेक कार्यक्रममा उहाँले निगरानी राख्नु हुन्थ्यो । एउटा कुशल व्यवस्थापकीय नेतृत्व पाएर नै विद्यालयले तत्कालीन अवस्थामा सार्वजनिक विद्यालयहरूमा पद्मोदयले प्रवेशिका परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भई विद्यालयको स्वर्णिम जयन्तीमा उहाँले उच्च भूमिका निर्वाह गर्नुभएको थियो ।

२०५२ सालमा पद्मोदय माविको स्वर्ण महोत्वस मनाउने कार्यक्रम तय भयो । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यक्रम भव्यताका साथ मनाउने निधो ग¥यो । त्यस कार्यक्रमलाई अझ भव्यताका साथ मनाउन पूर्वविद्यार्थीलाई आह्वान गरियो । उक्त भेलाले पूर्वविद्यार्थी कमल थापालाई पद्मोदय पूर्व विद्यार्थी सङ्घको अध्यक्ष चयन ग¥यो । विद्यालय व्यवस्थापन, पूर्वविद्यार्थी सङ्घ, अभिभावक र शिक्षकसमेतको उपस्थितिमा स्वर्ण महोत्सव भव्य रूपले मनाउने निर्णय भयोे । त्यस भेलाको नेतृत्व दमन दाइले नै लिनुभएको थियो । तत्कालीन राजा रानीलाई नै प्रमुख अतिथिका रूपमा आमन्त्रण गरियो । 

२०५२ साल फागुन २९ गते विद्यालय प्राङ्गणमा तत्कालीन राजा वीरेन्द्र र तत्कालीन रानी ऐश्वर्य र मन्त्रीहरूको समुपस्थितिमा स्वर्ण जयन्ती मूल कार्यक्रम भव्यताका साथ सम्पन्न गरी तत्कालीन राजा रानीलाई विद्यालयको समीक्षालय र पुस्तकालयको अवलोकन गराउने काम भयो । राजा र रानीले जिज्ञासापूर्वक बालबालिकाले बनाएका चित्र पूर्वव्यावसायिक सामान अवलोकन गर्नुभएको थियो भने उक्त विषयका सामग्रीका बारेमा थुप्रै प्रश्न गर्नुभयो । बिच बिचमा दमन दाइले बहुत शालीनतापूर्वक प्रभावकारी ढङ्गले विद्यालयको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

दमन दाइले जहिले पनि भन्नुहुन्थ्यो, “समाजलाई गति एवं सही दिशा दिने शिक्षा नै हो । शिक्षाबाट विभिन्न ऊर्जा र शक्ति प्राप्त हुने कुरा बताउनु हुन्थ्यो ।” राजनीतिज्ञका नाताले पनि उहाँले भनिरहनुहुन्थ्यो, “राजनीतिले शिक्षालाई उचित दिशा दिन नसके शिक्षा माथि उठन सक्दैन । निष्ठाबिनाको राजनीतिक नेतृत्वले देशलाई सङ्कटमा पु¥याउँछ ।” प्रसङ्ग शिक्षालाई नै कसरी प्रभावकारी तुल्याउने भन्ने हो । २०५७ सालतिरको कुरो हो, दमन दाइले पङ्क्तिकारसँग भन्नुभयो, “रमेशजी हाम्रो मुलुकको समग्र अवस्था बिगँ्रदै जान थाल्यो । हामीले सुधार्नका लागि एउटा अभियान चलाउँ । त्यसका लागि हाम्रा ख्यातिप्राप्त विद्वान् साथीहरूको पनि सल्लाह लिऊँ । अनि देशका लागि केही गरौँ ।” देश सुधार्नका लागि माध्यम शिक्षा नै हुनु पर्छ भन्दै उहाँले यसका लागि डा. त्रैलोक्यनाथ उप्रेतीलाई बोलाउनुहोस् भन्नुभयो । डा. उप्रेती पद्मोदयमा आइरहनुहुन्थ्यो र यो पङ्क्तिकारलाई सल्लाह दिइरहनुहुन्थ्यो ।

भोलिपल्टै पद्मोदयमा दमन दाइ र उप्रेती सरसँगै हामी बस्यौँ । देशको शिक्षा प्रणाली र राजनीतिक अस्थिरता र बढ्दो महँगी र भ्रष्टाचार वृद्धि बारेमा चर्चा भए । यसमा सुधारका लागि शिक्षा नै माध्यम ठानियो । हाम्रा नेताहरूले बोल्ने र गर्नेमा फरक र जनमानसमा असन्तुष्टि र राज्य दण्डहीनतातर्फ उन्मुख भएको अवस्थामा सुधार नभई नहुने कुरामा नै छलफल भएको थियो । समग्र देशको सुधारमा सघाउन स्वयंसेवी संस्था स्थापना गरौँ, जसमा देशका वरिष्ठ शिक्षाविद् समावेश गर्ने कार्यक्रम तय गरौँ भन्ने उहाँको सुझाव थियो । यसै अनुरूप पद्मोदयमा शिक्षाविद्हरूको भेला गराई नागरिक शिक्षा प्रवर्धन समाजको स्थापना गर्ने निर्णय भयो । यसपश्चात् दमन दाइको नेतृत्वमा हामीसमेत भएर उपत्यकाका नाम चलेका केही सार्वजनिक विद्यालय र निजी विद्यालय गयौँ । त्यहाँ गएर पनि वर्तमान देशको सन्दर्भ र शिक्षाबारे व्यापक छलफल भयो । अनि हामीले खोल्न लागेको संस्थाबारे पनि प्रतिक्रिया लियौँ । 

तदनुरूप पद्मोदय माविमा वरिष्ठतम शिक्षाविद्को भेलाले नागरिक शिक्षा प्रवर्धन समाजको अस्थायी कमिटी गठन गरियो । जसको प्रमुख सल्लाहकार दमन दाइ, संयोजक प्राडा त्रैलोक्यनाथ उप्रेती, महासचिव पङ्क्तिकार र सदस्यहरूमा डा. तीर्थ खनिया, डा. बल्लभमणि दाहाल, प्रा. हर्षनारायण धौमडेल, प्राडा विद्यानाथ कोइराला, प्राडा मीनबहादुर विष्ट, प्राडा मन वाग्ले, उमेश श्रेष्ठ, भुवनेश्वरी पन्त, प्राडा वासुदेव काफ्ले, लक्ष्मीकिशोर सुवेदी हुनुहुन्थ्यो । उक्त संस्थाका सल्लाहकार सदस्यहरूमा प्राडा सुरेशराज शर्मा, प्राडा प्रेमकुमार कसजु, डा. केदारनाथ श्रेष्ठ, डा. ईश्वरप्रसाद उपाध्याय, डा. विजय श्रेष्ठ आदि रहनुभएको थियो । यसपछि नागरिक शिक्षा प्रवर्धन समाज नाम संस्थालाई विधिवत् सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र समाज कल्याण मन्त्रालयबाट मान्यता लियौँ । साधारण सभाको आयोजना गरियो । उक्त सभाले तदर्थ समितिलाई नै स्थायी रूप दिने निर्णय ग¥यो । त्यसपछि यस संस्थालाई प्रभावकारी रूपले सञ्चालन गरियो । दमन दाइको अग्रसरतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गरियो र त्यस क्रममा आएका सुझावलाई सम्बन्धित निकायमा पठाउने काम भयो ।

दमन दाइले भनिरहनुहुन्थ्यो, “नागरिक चेतनाबिनाको प्रजातन्त्र सफल हुँदैन । चेतना जगाउने कार्य नागरिक शिक्षाबाट नै हुने हो ।” यसर्थ यस संस्थाको अग्रसरतामा नै प्रजातान्त्रिक संस्कार मानव अधिकार र समृद्ध समाज निर्माणमा हामी सबै लाग्यौँ । उहाँ अध्ययनशील स्वभाव र ज्ञान शक्तिको उर्वर भूमि नै हुनुहुन्थ्यो । उहाँको स्वाभिमानलाई कसैले चुनौती दिन सक्ने कतै ठाउँ नै थिएन । दमन दाइमा सत्ताको मोह थिएन । उहाँ सुखको लालची कहिल्यै हुनुभएन । यस्तो व्यक्ति गुमाउनु पर्दा राष्ट्रलाई नै ठुलो क्षति पुगेको छ ।

अन्त्यमा, भन्नैपर्ने विषय किन भनिएन भन्ने हुन सक्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को विरोधमा नेकपा माओवादीले सशस्त्र सङ्घर्ष ग¥यो । माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभाको माग राखेको थियो । संविधान सभाको माग त कांग्रेसले सात सालमा पनि राखेकै हो । दमननाथले संविधान सभाको माग पहिलेदेखि नै राख्दै आउनुभएको थियो । यो मुद्दामा अडिग भएर नागरिक तहबाट पद्मरत्न तुलाधारसमेतको सहयोगमा नेतृत्व दिई त्यसलाई निष्कर्षमा पु¥याउने काम दमननाथले गर्नु भयो । संविधान सभाको सदस्य भने उहाँलाई बनाइएन । संविधान सभाको माग राख्ने व्यक्ति नै किन सदस्य बनेन यो भोलिको इतिहासले मूल्याङ्कन गर्ने छ । नागरिक समाजको परिकल्पना पनि उहाँकै थियो । शान्ति प्रक्रियाको प्रमुख सहजकर्ता दमननाथ हुनुभयो । शिक्षा र न्याय क्षेत्रका गर्व गर्नलायक मानक दमन दाइप्रति हार्दिक श्रद्धासुमन !

Author

रमेशप्रसाद गौतम