• १२ पुस २०८१, शुक्रबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

बन्ने भयो हिंसापीडित राख्ने भवन

blog

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार राजधानीमा निकालिएको र्‍याली । तस्बिर : कविता थापा

काठमाडौँ, मङ्सिर ११ गते । लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘मङ्गला सहाना पुनस्र्थापना केन्द्र’ को भवन बन्ने निश्चित भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ गुन्डुमा बन्ने भनिएको मङ्गला सहाना पुनस्थापना केन्द्रको जग्गा विवाद सुल्झिएपछि भवन बन्न टेन्डर प्रक्रियामा जाने भएको हो । मङ्गलादेवी सिंह र सहाना प्रधान दुवै नेपाली राजनीतिका शिखर व्यक्तित्वका नाममा सरकारले पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेको हो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशव उपाध्यायले भक्तपुरको गुन्डुमा २०७१/७२ सालमा १० रोपनी क्षेत्रफलमा उक्त भवन बनाउन खोज्दा जग्गा विवाद भएको जानकारी दिनुभयो । १० वर्षदेखि रोकिएको समस्या सुल्झिएपछि भवन बन्ने निश्चित भएको उहाँले जानकारी दिनुभयो । सरकारले भक्तपुरको गुन्डुमा लैङ्गिक हिंसासहित सबै प्रकारका पीडित महिला र किशोरीलाई सुरक्षित राख्न ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त जग्गामा व्यक्तिले चार आना जग्गा दाबी गरेपछि भवन बन्न सकेन । 

उहाँले पुनस्थापना केन्द्रभित्र आवाससहितको भवन, प्रशासन भवन, अस्पताल, कर्मचारी आवास, तालिम हल, खेलकुद, सुरक्षा गार्ड क्वाटर पुस्तकालय, मनोरञ्जन कक्ष र भान्साघरसमेत हुने गरी सुविधासम्पन्न भवन निर्माण गरिने जानकारी दिनुभयो । सङ्घीय सरकार अन्तर्गत उक्त भवनमा एक सय पीडित महिला राख्न मिल्ने गरी निर्माण गर्न लागिएको हो । उक्त संरचना निर्माण गर्न नेपाल सरकारको ७० प्रतिशत र दातृनिकायको ३० प्रतिशत गरी कुल ३० करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ती सबै संरचना २०२६ सम्म निर्माण गरी हिंसामा परेका महिला र किशोरीलाई राख्न मिल्ने बनाउने लक्ष्य मन्त्रालयले लिएको छ ।

उपसचिव उपाध्यायले लैङ्गिक हिंसामा प्रभावित भएका महिला र किशोरीलाई जुन घरबाट पीडित भएका हुन्, त्यहाँ बस्न नमिल्ने भएपछि पुनस्थापना केन्द्रमा लगेर राखिने बताउनुभयो । उहाँले भन्नुभयो, “लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई समस्या परेपछि त्यही समुदाय र घरमा बस्ने अवस्था हुँदैन । उजुरी, मुद्दा मामिला गर्ने त्यही परिवारमा बस्ने स्थिति हुँदैन । कतिपय मानसिक रूपमा विक्षिप्त हुन सक्छन् । अन्य ठाउँमा बसोबासको ठेगाना नहुन सक्छ । यस्ता व्यक्तिलाई राज्यले संरक्षण र सुरक्षा दिएर राख्न पुनस्र्थापना केन्द्र बनाउन लागेको हो ।” 

तीन प्रदेशमा संरचना बन्दै 

लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई राख्न मिल्ने गरी मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय भौतिक संरचना निर्माण गरिने उहाँले जानकारी दिनुभयो । “जसमा मधेश प्रदेश अन्तर्गत सर्लाहीको लालबन्दी, लुम्बिनीमा दाङ घोराही र सुदूरपश्चिममा कञ्चनपुरको भीमदत्त नगरपालिकामा भवन निर्माण गरिने भएको छ । मधेश र सुदूरपश्चिममा जग्गा प्राप्त भई टेन्डरको प्रक्रियामा गइसकेको छ भने लुम्बिनीको दाङ घोराहीमा जग्गा प्राप्तिको प्रक्रियामा छ । तीन प्रदेशका पुनस्र्थापना केन्द्र बनाउन २०/२० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो । एक प्रदेशमा ५० देखि ६० जना पीडित महिला आवास सहित राख्न मिल्ने गरी भवन बनाइने छ ।  

उपसचिव उपाध्यायले महिला प्रहरी सेलसँगै पीडितको तत्काल उजुरी लिने र गुनासो सुन्नका लागि तीन प्रदेशका पाँच जिल्लामा एक/एक भवन बन्ने जानकारी दिनुभयो । उक्त भवन बनाउन ६० करोड बजेट विनियोजन गरिएको छ । ती जिल्ला स्तरका भवन कतिपय निर्माणको चरणमा गइसकेका छन् एकाध भवनको जग्गा प्राप्तिको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।