• ११ पुस २०८१, बिहिबार

'हिंसारहित समाज निर्माण र आत्मविश्वासका लागि खेल क्षेत्र रोज्यौं'

blog

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आयोजना गरेको ‘खेलकुदमा लैङ्गिक न्याय’ कार्यक्रम । तस्विर : केशब गुरुङ

काठमाडौँ, मङ्सिर १० गते । छोरी मान्छे हत्तपत्त घरबाहिर निस्कन हुन्न भन्ने सोचाइ छ । अझ कतै हिंसा त कतै आफैमा लज्जाउने स्वभाव । यस्तै कथा र ब्यथाको संगालोलाई चिर्दै केही साहसिक महिलाले आफूलाई खेलाडीको रुपमा परिचित गराउनु भएको छ । 

देशभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाइन्छ । यही अवसरमा अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले यो वर्ष ‘महिला हिंसाविरुद्ध सँगसँगै’ भन्ने नाराका साथ ‘खेलकुदमा लैङ्गिक न्याय’ अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी महिलासँग सोमबार उनीहरुको जीवन सङ्घर्षका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रममा सहभागी खेलाडीले आफ्नो विगत र महिला खेलाडीले भोगेको यथार्थलाई बाहिर ल्याउनुभयो । पारा तेक्वान्दो खेलाडी सीता भण्डारीको ६ महिनामै आगोको जलनका कारण देब्रे हात गुम्यो । त्यतिवेला सुविधासम्पन्न अस्पतालमा उपचार गराउने क्षमता उहाँको परिवारमा थिएन ।


 सीताले आफ्नो विगत कोट्याउन थालेपछि धेरैलाई भावुक बनायो । सीताले भन्नुभयो, “उपचारका लागि काठमाडौँ ल्याउन पनि सहज अवस्था थिएन । आगोमा परेर हात गुमाएँ । सबैले यो बाँच्दैन भन्थे । राम्रो उपचार नभए पनि बाँचे ।”

उहाँलाई सानैदेखि टेबल टेनिस लगायतका अन्य खेलहरु असाध्यै खेल्न मन लाग्थ्यो । एउटा हातै नभएको छोरी मान्छे खेलमा आकर्षित हुँदा गाउँसमाजमा अनेकन प्रश्न पनि उठ्दथ्यो ।  सुरुवाती चरणमा टेबलटेनिस खेल्दा–खेल्दै उहाँ तेक्वान्दोमा प्रवेश गर्नुभयो र त्यसैमा निरन्तर खेल्नुभयो । हालसम्म उहाँले टर्की, रसिया, भियतनाम लगायतका देशमा खेल खेलिसक्नुभएको छ । 


यस्तै नेपाली चर्चित बडिबिल्डर रजनी श्रेष्ठले गत कात्तिकमा माल्दिभ्समा सम्पन्न भएको प्रतियोगितामा १५ औँ विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभयो । 


दश वर्ष अगाडि रजनीको घाँटीमा ट्युमरको समस्या देखिएको थियो । घाँटीमा २५, ३० वटा गाँठो पर्यो । जसलाई चिकित्सकले समेत क्यान्सरको शङ्का गरेका थिए । 

रजनीले विगत सम्झँदै भन्नुभयो, “म नर्भस थिए । छोरा, श्रीमान, सबै परिवारलाई छोडेर संसारबाटै जानुपर्छ भनेर एकदम रोएँ । डाक्टरले वाल्क, एक्सरसाइज गर्नु, फिजिकल एक्टिभिटी गर्नु भन्नुभएको थियो । त्यसपछि श्रीमानले मलाई जीम जान प्रेरित गर्नुभयो ।” 

त्यसको केही महिनापछि उहाँको स्वास्थ्यमा पनि सुधार आयो र  जीमतर्फ थप उत्साहित बन्नुभयो । उहाँले यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि बनाइसक्नुभएको छ । महिलाको शारीरिक बनावट पनि पुरुषको सरह हुन सक्दछ भनेर प्रमाणित गरिसक्नुभएको छ । तर, रजनीलाई अहिले पनि तेस्रो लिङ्गी हो कि ? भनेर सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ । यो पनि महिला हिंसाको एक किसिमको रुप हो ।

यस्तै नेपालकी पहिलो महिला रेसलर भगवती खड्काको खेलमा छुट्टै अनुभव छ । भगवतीलाई सुरुमा गायिका बन्ने ईच्छा थियो । तर, साथीको सल्लाहबाट उहाँ  एक्कासी रेस्लिङ खेलमा आउनुभयो ।


भारतमा गएर रेसलिङ खेलेपछि उहाँको चर्चा चुलिएको हो । त्यसपछि हिमालय टागरसँग भेट भयो । २०६९ सालदेखि यस क्षेत्रमा प्रवेश गर्नुभएको भगवतीको अहिले आफ्नै रेस्लिङ फाउन्डेसन स्थापना गर्नुभएको छ । ११९ जना महिला र ४५ जना पुरुषलाई रेस्लिङको तालिम दिनुभएको भइसकेको छ । उहाँले ६४ वटा चलचित्र पनि खेल्नुभएको छ ।

यस्तै भलीबल रेफ्री चन्दा बन्दना राईलाई सानैदेखि खेलमा रुची थियो । बन्दनाले भन्नुभयो, “कक्षा तीनमा पढ्दा नै कक्षा पाँचमा पढ्नेलाई हाईजम्प, लङ्जम्पमा जित्थे । स्कूलमा केटाहरु मात्रै क्यारेम् बोर्ड खेल्ने । अनि म पनि खेल्ने भनेर भनेपछि केटीहरुलाई बिहीबार क्यारेम् बोर्ड खेल्न दिइयो ।”


“छोरी मान्छे लजालु स्वभावको हुनुपर्छ भन्ने सामाजिक मान्यता थियो” उहाँले भन्नुभयो, “यो छोरी अलि उपद्रो र चकचकी गर्छ । केटी भएर लजाउँदैन भन्नुहुन्थ्यो ।” परिवारमा कुनै रोकतोक नभएका कारण पनि खेल क्षेत्रमा लाग्न सहजता मिलेको उहाँको अनुभव छ ।

यसैगरी, तेक्वान्दोका राष्ट्रिय रेफ्री शारदा धिमाल यो क्षेत्रमा लाग्नुभएको २१ वर्ष भयो । हिंसा सहन नसकेरै खेल क्षेत्रमा लागेको अनुभव उहाँ सुनाउनुहुन्छ ।


शारदाले भन्नुभयो, “म खेल जीवनमा कसरी लागे भने महिलामाथिको हिंसा नसहेरै हो । खेल खेल्नुपर्छ भन्ने लाग्यो । पहिले एक जनालाई पिटें पनि ।”

उहाँले बेस्ट रेफ्रीको सम्मान तीन पटक पाउनुभएको छ । उहाँले अधिकांश महिलाले विवाहपछि खेल क्षेत्र छोड्नुपर्ने बाध्यता भोग्नुपरेको बताउनुभयो ।

पूर्वमन्त्री एवम् नेकपा (एमाले) का सचिव पद्माकुमारी अर्यालले जित्नका लागि लड्नैपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “जित्नका लागि लड्नैपर्छ । लडाइमा भाग लिनैपर्छ । यो कुरामा हामी स्पष्ट हुनैपर्छ । हामी गर्न सक्छौं । म गर्न सक्छु भन्ने धारणाबाट परिवर्तन घरबाट, प्रेरणा मबाट । हरेकको जीवन अर्काको लागि प्रेरणादायी बनोस् । हामी हरेकले यो सङ्कल्प गरौं । महिला आन्दोलनको गन्तव्य समानता हो ।”

खेल क्षेत्रले राज्यको इज्जत बढाएको भन्नुहुँदै उहाँले खेल क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा संवेदनशीलताको क्षयीकरणका कारण निराशाजनक स्थिती बन्ने गरेको भनाइ उहाँले राख्नुभयो । राजनीतिमा महिला सशक्तिकरणको मुद्दा उठेको तर सामाजिक, आर्थिक, सांस्कृतिक लगायत अन्य क्षेत्रमा यो विषय मजबुतरुपमा उठ्न नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपालको महिला आन्दोलनले अधिकारको मात्र कुरा गरेन, कर्तव्य पनि पुरा गरेको छ । नेपालको दशगजाको जग्गा मिचिँदा झण्डा उठाउने अनेमसङ्घ चाहे त्यो २०४६ को आन्दोलन होस्, चाहे २०६२÷६३ को आन्दोलन व्यवस्था बदल्न महिला उठेका हुन् ।”

अनेमसङ्घका अध्यक्ष टुकाभद्र हमालले पछिल्लो समय हिंसाको स्वरुप बदलिँदै गएको बताउनुभयो । सबैखालको हिंसा अन्त्यका लागि, खेल क्षेत्रका महिलाको उचित पारिश्रमिक एवम् समान अधिकारका लागि ऐक्यबद्धतासहित यस किसिमको आयोजना गरिएको उहाँको भनाइ छ ।अध्यक्ष हमालले महिला खेलाडीलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभयो ।

खेलाडी महिलासँगको अन्तरक्रिया कार्यक्रमलाई पत्रकार एवम् अधिकारकर्मी निर्मला शर्माले सहजीकरण गर्नुभएको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।