• २८ जेठ २०८२, बुधबार

टोखामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, जेठ २७ गते। प्रहरीले काठमाडौँको टोखा नगरपालिका–३ मा दुई जना लागुऔषधका अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ। 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मङ्गलबार दिउँसो ३ बजे सो घटनामा ४० वर्षीय ससिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम घाइते भएका छन्। 

प्रवक्ता शाहीका अनुसार सो क्षेत्रमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सादा पोशाकका प्रहरी टोली सोधपुछका लागि पुगेको थियो। सो क्रममा अभियुक्तले प्रहरीमाथि रड प्रहार गर्ने प्रयास गरेका थिए। आक्रमण भएपछि प्रहरीले गोली चलाएर अभियुक्तलाई नियन्त्रणमा लिएको हो।

उहाँले भन्नुभयो, “टोखा नगरपालिका वडा नम्बर ३ मा लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोली सादा पोशाकमा हाम्रो ब्यूरोको टोली गयो। नियन्त्रणका लागि सोधपुछ गर्दा, तिमीहरू लागु औषध कारोबारी हो भनेर प्रहरीले आफ्नो कारबाही सुरु गर्‍यो। त्यसपछि उनीहरूले फलामको रड लिएर दुई जना प्रहरीलाई आक्रमण गरे।”

उहाँका अनुसार दुई जना अभियुक्त भारतीय नागरिक रहेको र उनीहरूको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।