• १० मंसिर २०८१, सोमबार

नेवानिले पनि हटायो माथिल्लो भाडादर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १० गते । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ । सरकारको निर्देशन कार्यान्वयन गर्दै निगमले इकोनोमी क्लासको महँगो दरको भाडा हटाएर सस्तो भाडादर मात्र निर्धारण गरिएको निगमले जनाएको छ । 

 निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा हवाई भाडा बढेको जनगुनासोपछि हाललाई माथिल्लो भाडादरको टिकट नबेच्ने भएको हो । सरकारको निर्देशन र राज्यको दायित्व अनुसार हाल निगमले अन्तर्राष्ट्रिय भाडादरमा न्यूनतम दुई हजार पाँच सयदेखि अधिकतम पाँच हजार रुपियाँसम्म छुट दिइरहेको छ । अब निगमले इकोनोमी क्लासका लागि सस्तो भाडादरका टिकट मात्र बिक्री गर्ने छ ।

यस अनुसार हाल निगमले भारतका नयाँदिल्ली, मुम्बई र बैङ्गलुरु, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैङ्कक र जापानको नारितामा उडान गर्दै आएको छ । नयाँ व्यवस्था अनुसार यात्रुले अब प्रतिटिकट दुई हजार पाँच सयदेखि पाँच हजार रुपियाँसम्म छुट पाउने प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि हिमालय एयरलाइन्सले पनि उच्च मूल्यको हवाई टिकट (वाई क्लास) बन्द गरेको छ । 

पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका २० वटा हवाई कम्पनीले सिट वर्गीकरण अनुसार न्यूनतम टिकट मूल्य, वर्तमान टिकटको मूल्य, सरचार्ज र यात्रुलाई दिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाइसकेका छन् । हाल हवाई भाडामा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न गठित कार्यदलले ट्राभल एजेन्सीले यात्रुलाई बेचेका टिकट र घटाउन सकिने हवाई भाडाबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।